
१३फागुन,काठमाडौं । संवैधानिक इजलासमा रही प्रतिनिधिसभा पुनःस्थापना गर्न आदेश दिएका प्रधानन्यायाधीशसहित सर्वोच्चका अन्य चार जना न्यायाधीशहरूले बुधबार कुनै पनि मुद्दाको सुनुवाइ गरेनन् ।
सर्वोच्च अदालत स्रोतले दिएको जानकारीअनुसार प्रधानन्यायाधीशसहित पाँचै जना बिदामा बसेका थिए । सर्वोच्चमा बुधबार १२ जना न्यायाधीशको मात्र इजलास रहेको थियो ।
संवैधानिक इजलासमा रहेका पाँचै जना न्यायाधीशमध्ये केही अझै दुई तीन दिन बिदामा रहने बताइएको छ ।
संवैधानिक इजलासमा रहेकामा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।
उनीहरुले एक महिनाभन्दा बढी लगातार इजलासमा बसी गैरकानुनीरुपमा प्रतिनिधिसभा विघटन गरिएको दाबी गरी दायर गरिएको रिट निवेदनको सुनुवाइ गरेका थिए ।
उनीहरु आराम गर्नका लागि पनि केही समय बिदामा रहेको बताइएको छ ।
प्रधानन्यायाधीश राणासहित अन्य चार न्यायाधीशहरूले गत माघ ४ गतेदेखि लगातार ती रिट निवेदनको पक्ष/विपक्ष र एमिकस क्युरीका तर्फबाट भएको बहस सुनेका थिए ।
उनीहरुले मंगलबार साँझ प्रतिनिधिसभा पुनःस्थापना हुने आदेश दिएका थिए । नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।