समय अगावै पुल निर्माण गर्ने ठेकेदार

१५फागुन, रोल्पा। ठेकेदारको लापरबाहीका कारण पुल अलपत्र परेको, सडक र भवन पनि वर्षाैसम्म नबनेको खबर हामीले धेरै नै सुन्ने र हेर्ने गरेका छौं ।

रोल्पामै पनि माडी पुल, जिल्ला अस्पताल र सिमलबाङ–दार्बाेट सडक निर्माणको जिम्मा पाएका ठेकेदार यसका ज्वलन्त उदाहरण हुन् । तर रोल्पाकै एक निर्माण व्यवसायी (ठेकेदार) राजबिर घर्ती यस्ता उदाहरण हुन्, जसले सम्झौता अगावै पुल निर्माणको काम सम्पन्न गर्दै आएका छन् ।

सुरुमा माडी पुल निर्माण गरी चर्चा कमाएका एसियाटिक राज जेभी, तालाबाङका प्रोप्राइटर घर्तीले हालसम्म ४ वटा पुल निर्माण गरेर स्याबासी कमाइसकेका छन् ।

माडी पुल निर्माणको जिम्मा लिएर ९ वर्षसम्म अलपत्र पार्ने प्यूठानका ठेकेदार बसन्त डिसीसँगको सम्झौता खारेज गरी दोस्रो पटक निर्माणको जिम्मा घर्तीलाई दिइएको थियो ।

१५ महिनाको निर्माण अवधि राखेर जिम्मा पाएकोमा घर्तीले माडी पुल ११ महिनामै सम्पन्न गरेका थिए । त्यस लगत्तै शहीदमार्गको दुई खोलीमा पनि समय अगावै पुल निर्माण गरेका घर्तीले सुलिचौर नजिकै छिर्नेको लुङ्ग्री खोला पुल र हालै मात्र धाङ्सी खोलाको पुल पनि सम्झौता अवधिभन्दा ८ महिना अगाडी नै सम्पन्न गरेका हुन् ।

धेरै वटा ठेक्का होल्ड गर्दा ढिलाई

निर्माण व्यवसायीहरुले आफ्नो क्षमताभन्दा धेरै ठेक्का होल्ड गर्दा समयमै काम सम्पन्न गर्न समस्या हुने गरेको घर्तीको अनुभव छ । ‘हामीले आफ्नो क्षमताभन्दा धेरै ठेक्का होल्ड गर्नु हुदैन्’ घर्तीले भने ‘धेरै वटा ठेक्का लिँदा आर्थिक र जनशक्ति परिचालन गर्न समस्या हुन्छ ।’

एउटा ठाउँमा पाएको ठेक्काको रकम अर्काे ठाउँमा प्रयोग गर्नुपर्ने अवस्था आएका काममा ढिलाई हुन सक्छ । त्यसैले आफ्नो क्षमताभन्दा धेरै ठेक्का होल्ड गर्न नहुने उनको सुझाव छ ।

काम पहिलै, रकम पछि

सरकारी कार्यालयको भुक्तानी प्रक्रियाका कारण सम्झौता अगाडी नै काम सकेपनि भुक्तानी भने ढिलो हुने गरेको छ । सरकारले यस आर्थिक वर्षका लागि केहि कम रकम विनियोजन गरेकाले रकमान्तर गर्न केहि समय लाग्ने सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख दिपक खड्काले बताए ।‘धाङ्सीखोलाको पुल उद्घाटन भइसक्यो, तर रकम भुक्तानी गर्न बाँकी नै छ’ खड्काले भने ‘हामी छिट्टै भुक्तानी गर्छौ ।’

छैन प्रोत्साहनको व्यवस्था

कुनै पनि ठेकेदारले ठेक्का लिएको काम सम्झौता अवधिभन्दा एक दिन ढिलो गरे पछि जरीवाना गर्ने व्यवस्था छ । तर सम्झौता अवधिभन्दा पहिले नै काम गर्ने ठेकेदारलाई कुनै प्रोत्साहनको व्यवस्था नभएको सडक पूर्वाधार विकास कार्यालय रोल्पाका प्रमुख खड्काको भनाई छ ।

‘सार्वजनिक खरिद ऐनमै जरीवानामा व्यवस्था छ’ उनेल भने ‘तर छिटो काम गर्नेलाई कुनै सेवा सुविधा दिने व्यवस्था छैन् ।’

छिटो काम गर्नेलाई कुनै प्रोत्साहन नहुनु दुखद भएको घर्तीको गुनासो छ । ‘मैले धेरै पटक कुरा उठाउने गरेको छु’ घर्तीले भने ‘हामीले दिनरात आफ्नो जिम्मेवारी सम्झेर काम गर्दा पनि कुनै प्रोत्साहन गर्ने व्यवस्था नहुनु दुखको कुरा हो ।’ अन्य ठेकेदारले कोरोना र विभिन्न बहानामा काममा ढिलाई गरे पनि घर्तीले भने पुल निर्माणको काम तिब्र गतिमा गरेका थिए ।

समयमै काम गर्नेलाई पुरस्कारको व्यवस्था हुनुपर्ने उनको माग छ । यस्तै काम नगर्नेलाई कालो सुचीमा राखे जस्तै समयमै काम सक्नेलाई विशेष खालको सूचीमा राखी प्रतिष्पर्धामा केहि सहज हुने व्यवस्था गर्नुपर्ने उनको सुझाव छ । यसले गर्दा काम गर्नेहरुको हौशला बढ्ने र विकास निर्माणको कामले पनि गति लिने उनको भनाई छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस