२१ फागुन, रोल्पा। रोल्पामा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४६.३९ प्रतिशत मतदान भएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार जिल्लाभर कुल मतदातामध्ये ४६.३९ प्रतिशतले मतदान गरेका हुन्।
मतदान सम्पन्न भएसँगै सबै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्ने काम सुरु भएको छ। रोल्पाका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीका अनुसार मतदान सकिएपछि सुरक्षाकर्मी र मतदान अधिकृतसहितको टोलीले मतपेटिका सुरक्षित रूपमा लिवाङस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने व्यवस्था गरिएको छ।
मतपेटिका लिवाङमा ल्याइसकेपछि मतगणना सुरु गरिने मुख्य निर्वाचन अधिकृत विनोद खतिवडाले जानकारी दिनुभयो। मतगणना स्थल लिवाङस्थित घरेलु तथा साना उद्योग कार्यालयमा व्यवस्थापन गरिएको छ। राति २ बजेसम्म सबै मतपेटिका आइपुग्ने अनुमान गरिएको खतिवडाले बताए ।
रोल्पामा ८६ वटा मतदान स्थल र १८० मतदान केन्द्र रहेका छन्। जिल्लामा कुल १ लाख ४९ हजार ५९७ मतदाता रहेका छन्। जसमा महिला मतदाता ७४ हजार ९०७ र पुरुष मतदाता ७४ हजार ६९० रहेका छन्।


