रोल्पा उद्योग वाणिज्य संघको अध्यक्षमा आचार्य र सुवेदी भिड्दै

२३फागुन, रोल्पा । रोल्पा उद्योग वाणिज्य संघको ८औं अधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भाेली (मंगलवार) निर्वाचन हुने भएको छ ।

यसअघि गत माघ ३ गते गर्ने तयारी भएपनि कोरोना महामारीका कारण स्थगित भएको निर्वाचन मंगलवार हुन लागेको हो । निर्वाचन प्रक्रिया अन्तर्गत मंगलवार विहान ९ देखि ५ बजेसम्म मतदान, मतदान सकिए लगतै मतगणना र मतगणना सकिए लगतै सकभर उसैदिन राती मतपरिणाम घोषणा गर्ने तयारी भएको निर्वाचन अधिकृत तुल्सी जीसीले जानकारी दिए । पदभार ग्रहण र साधारणसभा भने फागुन २७ गते हुने जीसीले बताए । ‘औपचारिक कार्यक्रम गर्ने पुरानै प्रचलन अनुसार पहिले निर्वाचन र पछि वार्षिक साधारण सभा तथा पदभार ग्रहण कार्यक्रम तय भएको छ’ जीसीले भने ‘नेपाल उद्योण वाणिज्य महासंघका प्रतिनिधि र अन्य अतिथिहरु सहितको कार्यक्रम पछि हुने भएको हो ।’

निर्वाचनका लागि मतदाता नामावली प्रकाशन तथा उम्मेदवारी दर्ता भने यस अघि नै भइसकेको छ । जम्मा १ हजार २ सय १८ जना मतदाता रहेको निर्वाचनमा एक जना अध्यक्षका लागि दुई जनाबीच प्रतिष्पर्धा हुदै छ भने ९ जना सदस्यका एक महिलासहित १४ जनाबीच प्रतिष्पर्धा हुदै छ । विधानमा १ महिला सदस्य अनिवार्य रहने व्यवस्था गरेपनि निर्वाचनमा भाग लिनैपर्ने हुन्छ । महिला सदस्यका लागि एक जनाको मात्रै उम्मेदवारी परेकाले निर्वाचनमा एक मत ल्याएपनि स्वतः निर्वाचित हुने निर्वाचन अधिकृत जीसीले बताए । प्रक्रिया पुराउनका लागि मात्र निर्वाचनमा भाग लिनुपर्ने भएको हो ।

अध्यक्षमा आचार्य र सुवेदी भिड्दै

वाणिज्य तर्फको उपाध्यक्षमा मिलन रोका, उद्योग तर्फको उपाध्यक्षमा गोपाल प्रसाद श्रेष्ठ, महासचिवमा कमल घर्ती, सचिवमा साजन कुमार थापा र कोषाध्यक्षमा बसन्ता आचार्य निर्विरोध निर्वाचित भएपनि अध्यक्ष र सदस्यको लागि भने निर्वाचन हुन लागेको हो ।

अध्यक्षमा वर्तमान उपाध्यक्ष केशवकुमार आचार्य र पूर्व महासचिव बशन्त सुवेदी बीच प्रतिष्पर्धा हुन लागेको हो । आचार्य यस अघि सदस्य, कोषाध्यक्ष हुँदै हाल उपाध्यक्षबाट अध्यक्षमा प्रतिष्पर्धा गर्न लागेका हुन्, भने सुवेदी यस अघि सदस्य, महासचिव र अध्यक्षमा पराजित भई पुनः अध्यक्षमा प्रतिष्पर्धा गर्दैछन् ।

संयोगले एउटै प्यानलबाट अध्यक्ष र सदस्यमा लडेका सुवेदी र आचार्य बीच अध्यक्षमा प्रतिष्पर्धा हुन लागेको हो । यसअघि किशोर आचार्यको विरुद्धमा अध्यक्षमा प्रतिष्पर्धा गरेका सुवेदीकै प्यानलबाट सदस्यमा केशवकमार आचार्य निर्वाचित भएका थिए । त्यसपछि बालकृष्ण सुवेदीको अध्यक्षतामा बनेको प्यानलबाट कोषाध्यक्षमा निर्वाचित आचार्य विश्वकुमार चन्दको अध्यक्षतामा बनेको कार्यसमितिमा भने उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए ।

एउटै प्यानलबाट अध्यक्षमा प्रतिष्पर्धा गरी हारेर दुई कार्यकाल बाहिर बसेका सुवेदी अहिले फेरि प्रतिष्पर्धा गर्न आउनु लज्जास्पद् विषय बनेको पदाधिकारीहरुको भनाई छ । ‘एक पटक हारिसके पछि दुई कार्यकाल बाहिर बसेर फेरि प्रतिष्पर्धा गर्न आउदा त्यति उचित देखिएन’ ति पधाधिकारीले भने ‘पुराना मान्छेहरु नै पटक–पटक दाहोरिने हो भने हाम्रो पालो कहिले आउने ?’ किशोर आचार्य पटक–पटक अध्यक्षमा दोहोरिदा अब नयाँ नेतृत्व आवश्यक छ भन्दै प्यानल बनाएका सुवेदी नै फेरि दुई कार्यकाल बाहिर बसेर अहिले अध्यक्षमा उम्मेदवार बन्न आउनु दुर्भाग्यपूर्ण रहेको उनकै प्यानलबाट सदस्य लडेकाहरुको भनाई छ ।

प्रकाशित मिति : २०७८ फाल्गुन २३ गते सोमवार
प्रतिक्रिया दिनुहोस