दुई सातापछि मेलम्चीको पानी घरघरमा

फाइल फाेटाे

२६फागुन,काठमाडौँ । मेलम्चीको पानी पिउने काठमाडौँ उपत्यकावासीको लामो समयदेखिको सपना अब केही दिनभित्रै साकार हुँदैछ । चैतको दोस्रो साताबाट काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गर्ने कार्यतालिका तय भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले मेलम्चीको पानी पिउने काठमाडौँवासीको लामो समयदेखिको सपना अब छिट्टै साकार हुने बताए । उनले भने, ‘‘चैत दोस्रो साताबाट तीन महिनासम्म परीक्षणका रूपमा काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण गरिनेछ । परीक्षण सफल भएपछि वितरण कार्य एक महिना रोकेर ‘फुल फेज’ मा पानी वितरण गरिनेछ ।’’

परीक्षणका रूपमा उपत्यकामा दैनिक १७ करोड लिटर पानी ल्याइने र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड ९केयूकेएल० को वितरण प्रणालीबाट पानी वितरण गरिने कार्यकारी निर्देशक खत्रीले जानकारी दिए । सिन्धुपाल्चोकको हेलम्बु अम्बाथानस्थित हेडबक्सबाट फागुन १० गते करिब २७ किलोमिटर लामो सुरुङमा पानी प्रवाह गराइएको थियो ।

कार्यकारी निर्देशक खत्रीका अनुसार काठमाडौँ उपत्यकामा पानी वितरणका लागि चैतको दोस्रो साताबाट सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा खसालिनेछ । सुरुङ सफा गर्ने काम भएकाले अहिले सुरुङको पानी बागमतीमा प्रवाह गरिएको छ । मेलम्चीको पानी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विद्यमान वितरण प्रणालीमा मिसिन्छ र सँगसँगै वितरण हुनेछ ।

आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रकाशित मिति : २०७७ फाल्गुन २६ गते बुधवार
प्रतिक्रिया दिनुहोस