
२६ फागुन, रोल्पा । रोल्पाका ग्रामीण भेगका अधिकांश सडक कच्ची, साँघुरा र गे्रड नमिलेकाले यात्रुले जोखिम मोलेरै यात्रा गर्नु परिरहेको छ । शान्ति प्रक्रिया पछि गाउँगाउँमा कच्ची सडक खनिएका छन् । तर, ति सबै व्यवस्थित बन्न सकेका छैनन् ।
बनिसकेका ग्रामीण सडकलाई ग्राभेल गर्ने, नाला व्यवस्थित गर्ने, घुम्ती सुधार गर्ने, ग्रेट मिलाउने काम गरिएका छैनन् । प्राविधिक डिजाइन र इस्टिमेट बीना नै गाउँगाउँ सडक खनिँदैछन् । गाउँ जाने सडक व्यवस्थित नहुदाँ यात्रुले ज्यान हत्केलामा राखेर यात्रा गर्न बाध्य छन् । यातायात व्यावसायी पनि जोखिम मोलेरै यातायात साधन सञ्चालन गर्न बाध्य छन् ।
वर्षौदेखि खाल्डाखुल्डी सडकमा सवारी साधन चलाउँदा सवारी धनी समेत मर्कामा पर्दै आएका छन् । सवारी साधनमा टुटफुट आउने गर्छ । ग्रामीण सडक ग्राभेल गर्ने त कुरै छैन, समयमा मर्मत र खाल्डो पुर्ने काम समेत नहुँदा यात्रामा कठिनाइ हुने गरेको छ । जिल्लाका प्रायः ग्रामीण सडक वर्षामा हिलाम्य र हिउँदमा धुलाम्य हुने गर्दछन् ।
जिल्लाको १० वटै पालिकाका गाउँ जोडिएका सडक अत्यन्तै अव्यवस्थित छन् । सदरमुकाम लिबाङ रहेको रोल्पा नगरपालिका, सुनिलस्मृति, लुंग्री, त्रिवेणी र रुन्टीगढी गाउँपालिकाका सीमित सडक कालोपत्रे छन् । सुनछहरी, थबाङ, गंगादेव, माडी र परिवर्तन गाउँपालिकाका गाउँका सडक पूर्णत कच्ची छन् ।
दाङको घोराही देखि रोल्पाको होलेरी–घर्तीगाउँ–थबाङ हुँदै पूर्वी रुकुमसम्म जोडिएको सहिद मार्गको थोरै खण्ड मात्र कालोपत्रे छ । सहिद मार्गको अधिकांश भाग कच्ची नै छ । सडक निर्माण थालिएको १९ वर्षसम्म पनि कालोपत्रे गर्ने काम कछुवा गतिमा छ । जसले गर्दा सहिद मार्गको यात्रा पनि जोखिममुक्त छैन । सहिद मार्ग व्यवस्थित नबन्दा बेलाबेला सवारी साधन दुर्घटनाग्रस्त हुने गरेका छन् । सहिद मार्गसँग जोडिएर गाउँ पुगेका भित्री सडकको हालत त भनी साध्य छैनन् ।
कच्ची सडकमा यातायात सञ्चालनमा धेरै समस्या खेप्नुपरेको यातायात व्यावसायी सुनिल रोकाले बताए । ‘आजकाल सडक धुलाम्यै बनेको छ, बर्खामा हिलाम्य हुन्छ । गाडी हिलोमा फस्छन् । सँधै सास्ती नै सास्ती छ ।’ सुनिल भन्छन्, ‘ठाडो र साँघुरा सडकमा लोड गाडी पार गर्न अत्यन्तै गाह्रो हुने गर्दछ । ज्यानै जोखिममा राखेर गाडी चलाउनु परेको छ ।’ कतिपय ठाउँमा यात्रुलाई गाडीबाट झारेर गाडी पार गर्नुपर्ने समस्या हुने गरेको गाडी चालक देवराज पुनमगर बताउँछन् । उनी भन्छन्, ‘गाडी चलाउन जोखिम छ, तर काम गर्नै पर्ने बाध्यता छ ।’
ग्रामीण भेगका सडक प्राय साँघुरा भएकाले सवारी साधन वारपार (क्रस) गर्ने ठाउँसम्म नपुग्ने समस्या हुने गरेको यातायात व्यावसायीहरु बताउँछन् । धुलाम्य सडकले यात्रु मात्र होईन, गाडीले उडाउने धुलोले पैडल यात्रुले समेत सास्ती खेप्नुपरेको सुनछहरी गाउँपालिका–२ का स्थानीय श्याम रोकामगर बताउँछन् । ‘सडक पिच नहुदाँ जोखिम मोलेरै यात्रु गर्नुपरेको छ । कतैकतै सडकहरु अत्यन्तै साघुँरो छन् ति ठाउँहरुमा गाडीमा चढ्नै डर लाग्ने गर्दछ ।’, रोकामगरले भने, ‘सडक कम्तिमा पनि ग्राभेल गरेकोसम्म मात्र भएपनि यात्रामा केहि सहज हुने थियो ।
जिल्लाका अधिकांश गाउँमा सडक पुगेपनि कतिपय सडकमा हिउँदमा मात्र सवारी साधन आवगमन हुन्छन् । बर्खायाममा सडक भत्किने, पहिरो जाने, सडकमा पानी जम्मा भएर गाडीहरु फस्ने समस्या हुनाले वर्षायाममा सवारी आवागमनमा कठिन हुने गर्दछ । अझ ग्रामीण भेगमा चल्ने सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोक्ने गर्नाले समेत दुर्घटना थप बढाएको छ ।