रोल्पामा छायांकन गरिएको चलचित्र ‘मितज्यू’को गीत ‘गैराघरे काँइली’ सार्वजनिक

०८ चैत, रोल्पा। रोल्पामा छायांकन गरिएको चलचित्र मितज्यूको गीत ‘गैराघरे काँइली’ सार्वजनिक भएको छ ।

रोल्पा र दाङका विभिन्न क्षेत्रमा छायांकन गरिएको चलचित्र मितज्यू आगामी जेठ ८ गतेबाट प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।

चलचित्रमा समावेश भएको गीत ‘गैराघरे काँइली’ आइतबार सार्वजनिक भएको हो ।  गीतमा श्रीकृष्ण बम मल्ल र मेलिना राईको स्वर सुन्न सकिन्छ। मल्लकै शब्द र संगीत रहेको गीतको एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन्।

सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार दयाहाङ राई,सौगात मल्ल र तेरिया फौजा मगरले नृत्य गरेका छन्। गीतमा तीनै जनाको नाचलाई असाध्यै सुहाएको देख्न सकिन्छ।

यस गीतको कोरियोग्राफर भने मिङ्मा डि लेप्चा हुन्। उनको कोरियोग्राफी र कलाकारको नाचलाई दर्शकले अत्यधिक मन पराएका छन्। निर्माण पक्षले पनि यो गीतलाई आशाका साथ हेरेको जनाएको छ ।

जनक घर्तीमगर निर्माता रहेको चलचित्र ‘मितज्यू’मा ग्रामीण परिवेश र पहाडी पृष्ठभूमिको सामाजिक कथामा बुनिएको हो। यस फिल्मलाई अनिल बुढा मगरले निर्देशन गरेका हुन्।

फिल्ममा दयाहाङ, सौगात र तेरियासहित पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको अभिनय रहनेछ।

प्रकाशित मिति : २०८२ चैत्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस