
१५चैत्र, काठमाडाैँ । म्यान्मार सैन्य जुन्ताले शनिबार प्रजातन्त्रकाे समर्थनमा उत्रेका कम्तीमा ११४ प्रदर्शनकारीकाे गाेली हानी हत्या गरेको छ। सेनाले ७६ औं सशस्त्र फौज दिवसका अवसरमा ‘कू’ यताकै रक्तपात दिन बनेको हो।
राजधानी नेपिडाे, रंगुन र माण्डलेलगायत शहरमा सुरक्षाकर्मीले बर्बर दमन गरेको छ। शनिबार थाइल्यान्डसँगको सीमा नजिकै १० जनाले ज्यान गुमाएका छन्। माण्डलेमा कम्तीमा ४० जना र रंगुनमा २७ जना मारिएका छन्।
प्रजातन्त्र पुनःस्थापनाको माग गर्दै सडक आन्दोलनमा सहभागी स्वतन्त्र नागरिकमाथि सुरक्षा फाैजले चलाएकाे गाेली लागेर एकैदिन देशका विभित्र शहरमा थप ११४ भन्दा बढी मारिएकाे बर्मेली मिडिया म्यान्मार नाउले जनाएको छ।
म्यान्मारमा सैन्य ‘कू’ यता ज्यान गुमाउने प्रदर्शनकारीकाे संख्या ४ सय नाघेको छ भने चार हजारको हाराहारीमा प्रदर्शनकारीलाई सैन्य सरकारले गिरफ्तार गरिसकेको छ।
म्यान्मारमा १ फेब्रुअरी २०२१ मा सेनाले प्रजातान्त्रिक सरकारलाई अपद्स्थ गर्दै सैन्य व्यवस्था लादेको थियो। सेनाको यस कार्यको विरोध गर्दै म्यान्मारमा लोकतन्त्र पुन:स्थापनाका लागि संर्घष जारी छ।
म्यान्मारमा विगत दुई महिनादेखि प्रजातन्त्र पुन:स्थापनाका लागि भइरहेको प्रदर्शनमा सेनाको हिंसात्मक कार्यवाहीलाई लिएर अमेरिका, युरोपेली युनियनले असन्तोष व्यक्त गरेका छन्।
युरोपेली युनियनको नेतृत्वमा अमेरिकाले मानव अधिकारवादी काउन्सिलको ४६ औं सेसनमा एउटा प्रस्ताव राखेको छ। जसमा म्यान्मारमा चलिरहेको सैन्य कार्यवाहीको निन्दा गरिएको छ। विएल नेपाली सेवा