
१६चैत्र,म्यान्मार । म्यान्मारमा निर्दोष नागरिकमाथि सेनाले बर्बर दमन गरिरहेको छ। दुई महिनादेखि उनीहरू सैन्य जुन्ताको त्रासमा बाँचिरहेका छन्।
सैन्य शासनको अत्याचारले सीमा नाघेको बर्मेलीहरू बताउँछन्। सैन्य ‘कू’को विरोधमा शनिबार सडकमा उत्रिएका एक सयभन्दा बढी प्रदर्शनकारी सुरक्षा फौजद्वारा मारिएका छन्।
तर, शनिबार साँझ सेना प्रमुख तथा ‘कू’का नाइके मिन आङ लाइङले सेनाका लागि भव्य भोजको आयोजना गरेका छन्। सेना प्रमुख मिनले ‘सशस्त्र बल दिवस’को अबसरमा उक्त भोज आयोजना गरेको बीबीसीले खुलासा गरेको छ।
‘कू’का कारण अहिलेसम्म ४ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन्। संयुक्त राष्ट्र संघजस्ता अन्तर्राष्ट्रिय निकायबाट म्यान्मारमा बढ्दो हिंसाका विरुद्ध पहल भइरहँदा समेत यहाँ सैन्य ज्यादतिका कारण घाइते हुने र ज्यान गुमाउनेको संख्या दिनहुँ उकालो लागिरहेको छ।
शनिबार साँझ राजधानीमा भव्य सैन्य भोजको आयोजना गरेको बर्मेली अधिकारवादी मङ् जार्नीले ट्वीटरमा तस्बिरसहित लेखेका छन्। विएल नेपाली सेवा