
१६चैत्र,मोगोक । म्यान्मार ‘सैन्य जुन्ता’ले हवाई आक्रमण गरेपछि दक्षिणपूर्वी राज्य कारेनका स्थानीयहरू घर छाँडेर भाग्न थालेका छन्।
सशस्त्र समूह ‘कारेन राष्ट्रिय यूनियन’को निगरानीमा रहेको यस राज्यमा गत आइतबार सुरक्षा फौजले हवाई आक्रमणपछि मुत्राअ जिल्लाका तीन हजार बढी नागरिक ज्यान जोगाउन छिमेकी राष्ट्रतर्फ भागेका छन्।
पछिल्लो समय लडाकु विमानले गाउँमा त्रास फैलाउन थालेपछि उनीहरू छिमेकी देशमा शरण माग्दै प्रस्थान गरेका छन्। प्रायः मानिस शरण लिन थाइल्याण्ड सीमा पार गरेको सशस्त्र समूह ‘केएनयू’को महिना संगठनले जनाएको छ। कतिपय स्थानीयहरू भने जंगल नजिकैका गाउँमा बसिरहेका छन्।
‘जुन्ता सेना’ले आइतबार अपरान्ह ३ बजे खो काय गाउँ नजिकै हवाई आक्रमण गरेको थियो। ‘सैन्य जुन्ता’को हमलालगतै स्थानीय ज्यान जोगाउन थाइल्याण्डको सीमावर्ती इलाका पार गर्दै भागेका हुन्। कारेन स्रोतकाअनुसार हवाई आक्रमणका कारण जनधनको कुनै क्षति भएको छैन।
म्यान्मार सैन्य ‘कू’को विरोधमा बर्मेली नागरिक झण्डै दुई महीनादेखि आन्दोलित बनेका छन्। ‘सैन्य जुन्ता’ले आइतबार मात्रै देशका विभिन्न स्थानमा ११४ प्रदर्शनकारीलाई गोली हानी हत्या गरेको छ। म्यान्मारमा ‘कू’यता चार सय बढी प्रदर्शनकारीले ज्यान गुमाएका छन्।
म्यान्मार नरसंहारपछि शरण लिन पुगेका बर्मेली नागरिकप्रति थाइल्याण्ड अधिकारीहरुले अहिलेसम्म कुनै प्रतिकृया दिएका छैनन्। पश्चिमी राष्ट्रहरूले अशान्त बनिरहेको दक्षिणपूर्वी एशियाली मूलुक म्यान्मारको बढ्दो हिंसाप्रति निन्दा व्यक्त गरेका छन्। विएल नेपाली सेवा