२३चैत्र,रोल्पा । नेकपा एमालेकी सांसद ईश्वरी घर्तीले १० वर्षे  द्वन्द्वताका समयमा माओवादीले बुर्जुवा शिक्षा भन्दै पढाईबाट बन्चित बनाइएका जनताका छोराछोरीलाई सर्टिफिकेट कसले दिने भन्दै प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेकी छन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद घर्तीले बुर्जुवा शिक्षा भन्दै जनताको छोराछोरीलाई पढाईबाट बन्चित गर्ने तिनै माओवादी नेताका छोराछोरी मंहगा बोर्डिङ र कलेजमा पढेर सुखसयलको जिवन विताई रहँदा सर्टिफिकेट बिहिन बनेका रोल्पालीका दैनिकी दर्दनाक बनेको बताएकी छन् ।

सांसद घर्तीले द्वन्द्वका समयमा नेपालको बुर्जुवा शिक्षा पढेर कामै छैन भनेर द्वन्द्वमा होमिएका हजारौ उर्जाशील रोल्पाली युवा शान्ति प्रक्रियापछि बेरोजगार बनेको बताइन् ।

रोल्पामा ६० प्रतिशत भन्दा बढि शिक्षक दरबन्दि रिक्त छ । छोराछोरीलाई गुणस्तरीय शिक्षा दिन हरेक अभिभावकले मजदुरी गर्दै स्कुलमा शैक्षिक कोष बनाएर विद्यालय चलाईरहेका छन् । सांसद घर्तीले भनिन्, रोल्पाका विद्यालय जनता र अभिभावकले चलाउने हो भने सरकारको के काम ?

१० वर्षे सशस्त्र द्वन्द्वको प्रत्यक्ष सामना गरेको रोल्पाले ठूलो मानविय र जनधनको क्षति मात्रै नभई विकासको लयमा फर्किन नसक्ने गरी भौतिक लगायत अन्य क्षति पनि बेहोर्नुपरेको बताइन् ।

सांसद घर्तीले भनिन्, १० वर्षे सशस्त्र द्वन्द्वलाई उचाईसम्म पुराएको रोल्पाले द्वन्द्वका क्रममा नेतृत्वबाट पाएको आश्वासनले रोल्पाका आर्थिक/ सामाजिक अवस्था बदलिन्छ भन्ने सपना अधुरै रहेको बताइन । माओवादी नेता र कार्यकर्ताको आर्थिक हैसियत एकाएक चुचुरोमा पुगेपनि व्यवस्था बदल्ने रोल्पालीको अवस्था बदलिनै नसकेको बताएकी छन् ।

सांसद घर्तीले भनिन्, अहिले रोल्पालीहरु दैनिकी गुजारा कसरी गर्दै होलान भन्ने सरकारलाई लाग्छ, भने सरकार रोल्पा पुग्नै पर्दैन, काठमाडौँ उपत्यका र नेपालका हरेक शहरी क्षेत्रमा सञ्चालित ईट्टाभट्टामा गएर हेरिदिए पुग्छ । त्यहि छन् हजारौँ रोल्पाली र त्यहि छन् रोल्पालीका वास्तविक दुख, पीडा र यर्थाथता झल्किने तस्बिरहरु ।

ईट्टाभट्टाका तस्बिरले मात्रै रोल्पा बोलेन भने एयरपोर्टमा खाडि मुलुकतिर उड्न लाईनमा बसेका युवाको अवस्था हेर्न आग्रह गरिन् । हरेक दिन करिब ४०—५० जना भन्दा बढि रोल्पाली युवा खाडि उडिरहेका छन् । अहिले हजारौँ रोल्पाली युवा विदेशमा छन्। विभिन्न नाकाहरुबाट मजदुरीका रुपमा भारत जाने रोल्पाली युवाहरुको लर्को पनि उत्तिकै छ ।

सांसद घर्तीले भनिन्, १० वर्षे सशस्त्र द्वन्द्व अवधिभर सरकारले विनियोजन गरेका विकास बजेट रोल्पाको गाउँ बस्तीसम्म पुग्नै पाएन । फ्रिज भएर सबै केन्द्रतिरै फर्कियो । त्यो कुरा सरकारी ईतिहासमा पनि सुरक्षित होला । त्यसैले रोल्पाली जनताको सरकारसँग त्यति धेरै ठूला अपेक्षा छैन । १० वर्षे द्वन्द्व अवधिभर रोल्पामा खर्च नभएर फ्रिज भई केन्द्रमा आएका बजेटले रोल्पामा भएको क्षतीलाई पुर्ति हुने गरी सरकारले रोल्पालिहरुलाई प्रत्यक्ष रोजगारी मिल्ने गरी केहि गौरवका आयोजनाहरु दिओस् ।

सांसद घर्तीले भनिन्, थबाङलाई राजधानि बनाउने सपना तुहिए पनि, दाङदेखि सिधै थबाङसम्म केबुलकार सञ्चालन गर्ने आश्वासन पुरा नभएपनि पर्यटकीय सम्भावना बोकेको रोल्पालाई प्रमुख पर्यटकिय गन्तव्यका रुपमा विकास गराउने खालमा योजना दिई १० वर्षे द्वन्द्वका क्रममा रोल्पालीले भोगेका दुख, पीडा र यातना भुल्ने वातावरण निर्माण गराउन आग्रह गरिन् ।

यस्तै सडकको दयनीय अवस्थाले रोल्पामा उत्पादित वस्तुले बजार र मूल्य पाउन नसकेको बताइन । धेरै गाउँबस्तीहरुमा विजुलि विस्तार हुनन् नसक्दा रोल्पालीहरु अन्धकार बस्न बाध्य रहेकाे बताइन् ।