रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले १ रोपनी बढी क्षेत्रफलमा अवैध रुपमा लगाइएका अवैध अफिम खेती नष्ट गरेको छ ।
जिल्लाको परिर्वतन गाउँपालिका – २ हमधाराका विभिन्न क्षेत्रमा लगाएको ८ सय बोट अवैध अफिम नष्ट गरेको हो ।
शनिबार जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख भरत लामा र राष्ट्रिय अनुसन्धान कार्यालय रोल्पाका प्रमुख कुसल थापामगरको नेतृत्वमा खटिएको प्रहरी टोलीले परिवर्तन–२ हमधारामा लगाएको अफिम खेती नष्ट गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता रामनाराण गुप्ताले जानकारी दिए ।
रोल्पामा गतवर्षमा मात्र प्रहरीले परिवर्तन गाउँपालिका वडा नम्बर ४ र ५ का विभिन्न क्षेत्रमा लगाएको ५१ हजार बढी अवैध अफिमका बोट नष्ट गरेको थियो । प्रहरीले गत वर्ष परिवर्तन–४ खोलागाउँ, तारल र बसुन्धरामा, जैरेनी र तातापानी तथा परिवर्तन–५ बजेनीमा लगाएका अवैध अफिमका बोट नष्ट गरेको थियो ।
प्रहरीका अनुसार रोल्पाका मध्य र उत्तरी भाग तथा रुकुम पूर्वसँग सीमाना जोडिएका क्षेत्रमा अफिम खेती गरिएको पाइएको छ । अफिम खेती नष्ट गर्न प्रहरीले बर्सेनि अभियान चलाए पनि खेती गर्नेको संख्या घट्नुको साटो बढ्दै गएको तथ्यांक छ।
जिल्लाका अन्य स्थानमा पनि प्रहरीले लागुऔषध अफिमका बिरुवाको विषयमा खोजी गरिरहेको र अफिम खेती भएको पाइएमा त्यसलाई नष्ट गर्ने प्रवक्ता रामनाराण गुप्ताले जानकारी दिए ।
प्रहरीले रोल्पामा यस वर्षमात्र ५ सय रोपनी भन्दा बढी क्षेत्र क्षेत्रफलमा अवैध रुपमा अफिम खेती गरेको हुनसक्ने अनुमान गरेको छ ।
प्रहरीले प्रत्येक वर्ष अफिम खेती नष्ट गरेको जनाएको छ । तर खेती गर्नेको पहिचान नहुँदा संलग्न व्यक्ति अहिलेसम्म पक्राउ परेका छैनन् ।