२९चैत्र, रोल्पा ।  रोल्पा प्रहरीले २८ रोपनी क्षेत्रफलमा अवैध रुपमा लगाइएको अवैध अफिम खेती नष्ट गरेको छ ।

जिल्लाको परिर्वतन गाउँपालिका – ४ र ५ का विभिन्न क्षेत्रमा लगाएको २५ हजार पाँच सय अवैध अफिमका बोट नष्ट गरेको हो ।

प्रहरी टोलीले परिवर्तन–४ खोलागाउँ, तारल र बसुन्धरामा करिब २० रोपनी क्षेत्रफलको पाखोबारीमा लगाएको अफिम खेती नष्ट गरेको हो । यहाँ करिब १८ हजार अफिमका बोट नष्ट गरिएका छन् ।

त्यसैगरी प्रहरीको अर्को टोलीले परिवर्तन–४ जैरेनी र तातापानी तथा परिवर्तन–५ बजेनीमा करिब आठ रोपनीमा लगाएको सात हजार पाँच सय अफिमका बोट नष्ट गरेको छ ।

प्रहरीका अनुसार रोल्पाका मध्य र उत्तरी भाग तथा रुकुम पूर्वसँग सीमाना जोडिएका क्षेत्रमा अफिम खेती गरिएको पाइएको छ । अफिम खेती नष्ट गर्न प्रहरीले बर्सेनि अभियान चलाए पनि खेती गर्नेको संख्या घट्नुको साटो बढ्दै गएको तथ्यांक छ।

जिल्लाका अन्य स्थानमा पनि प्रहरीले लागुऔषध अफिमका बिरुवाको विषयमा खोजी गरिरहेको र अफिम खेती भएको पाइएमा त्यसलाई नष्ट गर्ने जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रकाश भुसालले जानकारी दिए ।

प्रहरीले तीन वर्षमा ४ सय ८१ रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको अफिम नष्ट गरेको जनाएको छ । तर खेती गर्नेको पहिचान नहुँदा संलग्न व्यक्ति अहिलेसम्म पक्राउ परेका छैनन् ।