३०चैत, रोल्पा । नेपाली काँग्रेस रोल्पाले समग्र पालिका र वडामा आधा हिस्सा नपाए गठबन्धन नगर्ने भएको छ ।

काँग्रेसले मंगलवार जिल्ला पार्टी कार्यालयमा गरेको बृहत छलफल कार्यक्रमबाट रोल्पाका १० वटा पालिका मध्ये ५ वटामा प्रमुख र ५ वटामा उपप्रमुखमा दावी गर्ने निष्कर्ष निकालेको हो ।

यस्तै ७२ वडा मध्ये ३६ वटामा एक सदस्य सहित अध्यक्ष र ३६ वटामा ३ वटा सदस्य पाउनै पर्ने नभए एक्लै चुनावमा जाने जनाएको छ ।

गठबन्धन दलहरुले काँग्रेसको निर्णय मान्न तयार भए गठबन्धन गर्ने नभए सौहार्दपूर्ण तरिकाले एक्लै चुनावमा जाने निष्कर्षमा पुगेको नेपाली काँग्रेस रोल्पाका सभापति किशोर कुमार आचार्यले बताए ।

‘जिल्ला कार्य समिति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र १४औं महाधिवेशनका जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका प्रत्यासीहरुको उपस्थितिमा भएको बृहत अन्तरक्रियात्मक बैठकको सुझाव अनुसार हामी निष्कर्षमा पुगेका हौं’ सभापति आचार्यले भने ‘सोही बमोजिम नै निर्वाचनमा जाँदा उपयुक्त हुने हाम्रो ठहर छ ।’

गठबन्धनका अन्य दल सहमत भएमा सोही बमोजिम गर्ने र नभएमा एकल ढंगले मित्रवत रुपमा सौहार्दताका साथ प्रतिस्पर्धामा भाग लिन पार्टीका क्षेत्र, पालिका तथा वडा समितिहरुलाई निर्देशन दिएको समेत नेपाली काँग्रेस रोल्पाले जनाएको छ ।