भेटेरिनरी अस्पताल रोल्पाले गर्‍यो  स्थानीय तहहरुसँग योजना तर्जुमा सम्बन्धी छलफल

रोल्पा । रोल्पाका स्थानीय तहहरुसँग भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाले अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।  आगामी आर्थिक वर्ष २०८१/८२ सालमा सञ्चालन गरिने वार्षिक कार्यक्रम तर्जुमाका लागि जिल्लाका दशवटै स्थानीय तहसँग एकदिने अन्तरक्रिया कार्यक्रम गरेको विज्ञ केन्द्रले जनाएको छ । 

जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पशुपक्षी तथा मत्स्य विकास क्षेत्रमा स्थानीयतहहरुको आवश्यकता, महत्व लगायतका विषयमा सुझाव संकलन गरिएको थियो । 

 भेटेरिनरी अस्पताल तथा पशु सेवा  विज्ञ केन्द्र रोल्पाका प्रमुख डा. शंकर न्यौपानेले विज्ञ केन्द्रले सञ्चालन गरिरहेका कार्यक्रमहरूको प्रगति विवरण, आगामी आर्थिक वर्षका लागि पेश गरिने कार्यक्रमहरूको योजना तर्जुमाका आधारहरुका बारेमा कार्य पत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानीय तहका प्रमुखहरूले जिल्लामा पशुपक्षीको उत्पादन वृद्धि गर्न सके आर्थिक विकासको प्रचुर सम्भावना रहेको  औँल्याएका छन् । स्थानीय नश्लहरुको संरक्षण गर्दै उत्पादन वृद्धि गराउने र किसानका उत्पादनहरूको बजारीकरण गरी कृषि पेसालाई दिगो तथा नाफामूलक बनाई आकर्षक पेशाको रुपमा स्थापित जोड दिए ।

जनप्रतिनिधिहरूले पशुपन्छीपालन मार्फत रोजगारी सृजना गरि आर्थिक विकास एवं सम्वृद्ध रोल्पा बनाउने गरी आगामी आर्थिक वर्षको कार्यक्रम प्रस्ताव गर्न आग्रह गरे ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले स्थानीय आवश्यकता, प्राविधिक हिसाबले योग्य र  कार्यान्वयन गर्न सकिने योजना मात्र माग गर्न सुझाव दिए । 

जिल्ला समन्वय प्रमुख सीता आचार्यले सम्पूर्ण स्थानीयतका प्रमुखहरू, पशु पन्छीको क्षेत्रमा कार्यरत प्राविधिकहरूको उपस्थितिमा आगामी आर्थिक वर्षको लागि योजना तयारी सम्बन्धमा छलफल गरिनु सकारात्मक भएको बताइन् । उनले, जनताको जीवन स्तरमा सकारात्मक परिवर्तन ल्याउने गरि आवश्यक तयारी गर्न समेत अनुरोध गरिन। 

लुम्बिनी प्रदेश सरकारकाद्वारा आगामी वर्षको बजेट तथा कार्यक्रमका प्राथमिकता, आवधिक योजनाको मर्म, स्थानीय तहहरुबाट प्राप्त सुझाबलाई आधार मानेर आगामी वर्षको लागि बजेट तथा कार्यक्रम माग गरिने भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रोल्पाका प्रमुख डा. शंकर न्यौपानेले बताए ।  

 कार्यक्रममा रोल्पा नगरपालिकाका मेयर सुरेन्द्र घर्तीमगर, सुनछहरी गाउँपालिका अध्यक्ष धनबहादुर पुन, सुनिलस्मृति गाउँपालिकाा अध्यक्ष मनिराम बुढाथोकी,  रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुन, त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाँठामगर, माडी गाउँपालिका  अध्यक्ष अमरसिंह घर्ती मगर, परिवर्तन गाउँपालिका अध्यक्ष सुकबहादुर बुढामगर, रोल्पा नगरपालिकाका उपप्रमुख गीता आचार्य, प्रमुख जिल्ला अधिकारी खिम बहादुर रायमाझी, विभिन्न गाउँपालिका उपाध्यक्ष तथा जिल्लाका १० वटै स्थानीय तहका पशुपन्छी विकास शाखा प्रमुखहरूको उपस्थिति रहेको थियो । 
  

प्रकाशित मिति : २०८१ बैशाख २ गते आइतवार
प्रतिक्रिया दिनुहोस