
४वैशाख, रोल्पा । बालकल्याण नमुना मावि लिबाङमा निर्माण गरिएको विद्यार्थी छात्रावासको शुक्रबार उद्घाटन गरिएको छ ।
पूर्व उर्जा जलस्रोत तथा सिचाई मन्त्री समेत रहेका प्रतिनिधि सभा सदस्य वर्षमान पुनले नवनिर्मित छात्रावास भवनको उद्घाटन गरेका हुन ।
उद्घाटन कार्यक्रममा बोल्दै पूर्वमन्त्री पुनले बालकल्याण नमुना माविले पछिल्ला दिनमा गरेको शैक्षिक सुधारको प्रशंसा गरे। विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र शिक्षकहरुको अनवरत प्रयासले विद्यालयले उचाइ हासिल गरेको बताउदै यसलाई थप विकास गर्नुपर्ने उनको भनाई रहको छ ।
नमुना विद्यालय अनुदान कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेटबाट निर्माण गरिएको तीन तले छात्रावास भवनमा १०० विद्यार्थीले आवासीय सुविधा सहित पठन–पाठन गर्ने विद्यालयले जनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेश न्यौपानेको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसीको विशिष्ट आतिथ्यता रहेको थियो।
कार्यक्रमका अन्य अतिथिहरुमा प्रहरी नायव उपरीक्षक नरेशराज सुवेदी, रोल्पा नगरपालिका २ का वडाध्यक्ष खिमबहादुर घर्ती, विद्यालय व्यवस्थापन समितिका सदस्यद्वय जितबहादुर डाँगी र निमकुमारी सिंह, पत्रकार महासंघ रोल्पाका पूर्व अध्यक्ष खेम बुढामगर रहेका थिए।
विद्यालयका प्राचार्य मधुसुदन पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक लेखमणि खड्काले गरेका थिए ।