ओलीको निम्तो प्रचण्डबाट अस्वीकृतः बालुवाटार होइन, सिंहदरबारमा भेटौं

४वैशाख, काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए । दाहालले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जबाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पारे ।

यसपटक प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयको अन्तरालमा फोन गरेका थिए । भेटघाट स्थल र समय नमिलेको भन्दै दाहालले ओलीको प्रस्ताव अस्वीकार गरेको स्रोतले जनाएको छ । ‘प्रधानमन्त्री ओलीले म, तपाईं र शेरबहादुर देउवा बस्नुपर्ने भयो, भेट गरौं भन्ने प्रस्ताव गर्नु भएको थियो तर बालुवाटारमा होइन, अबदेखि भेटघाटस्थल सिंहदरबार बनाऔं । अहिले म बाहिर छु, बेलुका सल्लाह गरौंला भनेर जबाफ फर्काएको छु’, दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो ।

प्रधानमन्त्री ओलीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएको बताइए पनि दाहालको सचिवालयले सर्वदलीय बैठकबारे कुनै कुराकानी नभएको बतायो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको थापाले बताए । दाहालसँग ओलीले कुराकानी भएको थापाले पुष्टि गरे । दाहालले शुक्रबार ललितपुरको एक कार्यक्रममा ओलीले आफूलाई फोन गरेको बताएका थिए ।

‘प्रधानमन्त्री ओलीले लामो समयपछि फोन गर्नुभएको थियो । बालुवाटारभन्दा बाहिर भेटौं भने पनि प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म फोन आएको छैन’, दाहालको सचिवालयले साँझ जानकारी दियो । पुस ५ गतेपछि प्रधानमन्त्री ओली र दाहालबीच भेटघाट भएको छैन । उनीहरू एकअर्काबीच सार्वजनिक रुपमै गालीगलौजमा उत्रिएका थिए ।

संसद् विघटनपछि ओली र दाहाल दुई ध्रुवमा बाँडिएका थिए । फागुन ११ गते सर्वोच्च अदालतले संसद् ब्युँताइदिएपछि ओलीलाई तत्कालीन नेकपाको संसदीय दलको नेताबाट हटाएर दाहाल आफैं संसदीय दलको नेता बनेका थिए । तर फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि ओली र दाहाल पुरानै घरमा फर्कनुपरेको थियो । यो समाचार आजकोनागरिक दैनिकमा छ ।

प्रकाशित मिति : २०७८ बैशाख ४ गते शनिवार
प्रतिक्रिया दिनुहोस