वडाध्यक्षको घरबाट पेस्तोल र गोली बरामद

४वैशाख, रोल्पा । जिल्ला प्रहरी कार्यालय रोल्पाले अवैध हतियार बरामद गरेको छ । गंगादेव गाउँपालिका-४ का ३३ वर्षीय वडाध्यक्ष समेत रहेका कृष्ण वलीको घरबाट अवैध हतियार बरामद गरिएको प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले जानकारी दिए ।

कोठमा लुकाइ राखेको अवस्थामा इटालीमा बनेको ७.६५ अटो पेस्तोल एक थान र तीन राउन्ड गोली फेला परेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए ।

अवैध हातहतियार लुकाइ छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय घर्तीगाउँ र प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरी टोलीले घरमा खानतलासी गर्दा लुकाइ राखेको अवस्थामा पेस्तोल फेला पारेको हो ।

सोही गाउँपालिका अध्यक्ष हरिबहादुर पुनमाथि आक्रमण गरेको आरोपमा वडा अध्यक्ष वली भने गत बिहीबार पक्राउ परिसकेका छन् । गाउँपालिकाको बजेट बाँडफाँडको विषयमा विवाद परेपछि वडा अध्यक्ष वलीले गाउँपालिकाको गाडीमा समेत तोडफोड गरेका थिए ।

पक्राउ परेका वलीलाई रोल्पा अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा १४ दिनको म्याद थप गरी अुनसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ।

साथै गाउँपालिकाको रा १ झ १९१ नं.को स्कारपियो गाडिलाई तोडफोड गरेकोमा जिल्ला प्रशासन कार्यालय रोल्पाबाट १५ दिनको म्याद थप गरि सार्वजनिक हित,सवास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अनुसन्धान अगाडि बढाइ रहेको प्रहरीले जानकारी दिएको छ

प्रकाशित मिति : २०८० बैशाख ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस