२२असार,रोल्पा। पूर्व अर्थमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टीका नेता वर्षमान पुन ‘अनन्त’ले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको मुख्य एजेन्डा लोकप्रियतावाद बाहेक अरू केही नभएको बताएका छन् ।
रोल्पामा पार्टीको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै पुनले विचार र एजेन्डाबिहिन पार्टीले ठाउँ र अवस्थाअनुसार बोल्ने र काम पनि त्यही गर्ने गरेको आरोप लगाए । उनले निर्वाचनका समयमा मधेसमा गएर संघीयतालाई मजबुत बनाउने कुरा गरेको, सुदूरपश्चिम पुगेर विकासमा प्राथमिकता दिने कुरा गरे पनि चुनाव जितिसकेपछि संघीयताकै विरूद्धमा बहस सुरू गरेर मतदाताको भावनामाथि खेलवाड गरेको बताए । ‘निर्वाचन जितेपछि अहिले मनपरि गर्न थालेका छन्’ पुनले भने, ‘यो कार्य मतदातामाथिको ‘बल्याकमेलिङ’ हो ।’ उनले यो सबैका पछाडि साम्राज्यवादको हात रहेको बताए ।
उनले लोकप्रियतावाद र दक्षिणपन्थी प्रतिक्रियावाद आफूहरूको चुनाैती रहेको बताए । पुनले युवा मतदाताको जनसांखिक अवस्था, डायस्पोरा र डिजिटल माध्यमलाई बुझ्न नसक्दा चुनावी परिणाममा केही कमजोर देखिएको बताए । रास्वपाले ८५ प्रतिशत सामाजिक सञ्जालमा निर्भर रहेर चुनावको उपयोग गरेको भन्दै विचार सहितको क्रियाशील संगठन भएमा महासुनामी आएपनि केही फरक नपर्ने बताए ।
फासिवादतिर गइरहेको सरकारविरुद्ध मोर्चाबन्दी
वर्षमान पुनले सरकारको फासीवादी कार्यशैलीको विरूद्ध कांग्रेस-एमालेसँग मोर्चाबन्दी गर्नुपर्ने अवस्था आएको बताए । सरकारको गतिविधि हेर्दा संविधानमाथि नै खतरा आउनसक्ने अवस्था देखिएको भन्दै उनले संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि पनि मोर्चाबन्दी आवश्यक रहेको स्पष्ट पारे । सरकारको सर्वसत्तावादी र फासीवादी चरित्रविरूद्ध विरोध गर्नुपर्ने उनको भनाइ छ ।
उनले अर्को प्रसँगमा पार्टीलाई चुस्तद्रुस्त बनाउन सबै तहका संगठनमा ५० प्रतिशत युवा ल्याउने बताए । उनले नेकपालाई एकपटक युवाहरूको पार्टी बनाउने उद्घोष गरे ।


