रोल्पा समृद्धिको आधार कृषि र पर्यटन

रोल्पा बहुप्राकृतिक, बहुसांस्कृतिक, बहुभेषभुषा साथै जैविक विविधताले भरिपूर्ण क्षेत्र हो । रोल्पाको समृद्धिका लागि धेरै अवसर र चुनौतीहरु रहेका छन् । रोल्पाले आफैमा एक छुट्टै पहिचान बोकेको छ । तत्कालिन १० वर्षे सशस्त्र द्वन्द्वले पनि रोल्पालाई एउटा फरक खालको पहिचानको स्थापित गरेको छ ।

देशमा अनेकौ सम्भावनाहरु हुँदाहुँदै पनि दैनिक रुपमा नेपालबाट रोजगारीको लागि विदेशीनेको संख्या नगन्य मात्रामा पाउन सकिन्छ । वैदेशिक रोजगारी रोक्नका लागि सरकारले गरेको प्रयासहरु प्रभावकारी देखिएको छैन् । देशमै रोजगारीको अवसर सिर्जना गरेर विदेश पायलन रोक्न सरकारले कृषि र पर्यटनलाई प्राथमिकतामा राखे विदेश पलायन केही कम गर्न सकिन्थ्यो होला । नेपाल आफैमा कृषि प्रधान देश भएकोले यहाँ अनेकौ सम्भावना छ । कृषि र पर्यटन व्यवसायलाई मात्र रोल्पा समृद्धिको प्रमुख आधार मानेर अघि बढ्ने हो, भने रोल्पाले राम्रो लाभ लिन सक्छ ।

समृद्धिको मुख्य आधार कृषिः

नेपाललाई कृषि प्रधान देश भनेर भनिन्छ । तर विडम्बना यहाँको उत्पादनले नपुगेर बाहिर देशबाट खाद्यान्न आयात गर्नुपर्ने बाध्यता छ । कृषिलाई व्यावसायिकरण र आधुनिकीकरण गरेर अगाडि बढ्ने हो, भने कृषिमा राम्रो सम्भावना देखिन्छ । यहाँ उत्पादन भएको वस्तुलाई सरकारले ब्राण्डिङ गरेर बाहिर निर्यात गर्न सहयोग गर्न सके कृषिबाट मनग्य रुपमा आम्दानी गर्न सकिने सम्भावना छ ।

रोल्पामा मात्र नभई देशको अधिकांश भूभागको कृषि प्रणाली व्यवसायिक खेति तर्फ जान सकेको छैन् । भौगोलिक हिसाबले सानो भएता पनि नेपाल ठाउँ अनुसार फरक–फरक प्रकृतिको हावापानी यहाँ पाइन्छ । हावापानी सुहाउँदो क्षेत्रलाइ त्यही अनुसारको खेतीपाती गरी उत्पादनमा वृद्धि गर्न सके सक्नुपर्छ । रोल्पाको प्रायः क्षेत्रमा रैथाने बालीको रुपमा मकै, जाँै, गहुँ, कोदो, फापर, धान̹ भटमास, सिमी, लगायतको बालीहरु अधिकांश भूभागको खेती गरिन्छ ।

यहाँ कृषि क्षेत्रमा सोचेजस्तो उत्पादन हुन नसक्नुको प्रमुख समस्या सिचाईको हो । सिचाई सुविधा नहुँदा अधिकाशं किसान आकाशे पानीमा निर्भर रहनु पर्ने अवस्था छ । यदि समयमै आकाशे पानी परेन भने उत्पादन हँुदैन । त्यसोत रैथाने बालीको खेतीले किसानको जिविकोपार्जनमा गर्न नै समस्या हुने गरेको पाइन्छ । आकाशे पानीकै भरमा अधिकांश किशानले खेतीपाती गर्ने भएकाले पनि समयमै उब्जनी गरेर बालीनाली भित्र्याउनमा समस्या छ ।

सबै ठाउँमा एकै प्रकृतिका कृषि उपजको उत्पादन हुन्छ भन्ने छैन् । ठाउँ र सुहाउँदो हावापानी अनुसार उत्पादनलाई थप प्राथमिकता दिदा राम्रो हुन्छ । रोल्पाको अधिकांश भूभागमा मकै, जाँै, गहुँ, कोदो, फापर, धान भटमास, सिमी, लगायतका खेतिहरु गर्छन । रोल्पामा यि बाहेक स्याउ, सुन्तला, किवि, ड्रागन फुड, लगायतका फलफुलहरुको पनि उत्पादन हुन्छ । जिल्लामा विभिन्न प्रजातीको बहुउपयोगी जदिबुटीहरु पाइन्छ । यसलाई उपयोग गरि आम्दानी गर्न सकिन्छ ।

कृषि उपजको उत्पानको हिसाबले मात्र नभएर व्यवसायिक पशु पालनबाट गरी राम्रो आम्दानी गर्न सकिन्छ । व्यवसायिक रुपमा बाख्रा, बङ्गुर, भैँसी र गाई पालन गरी मासु र दुधबाट राम्रो आम्दानी गर्न सकिन्छ । यि क्षेत्रमा पनि तुलनात्मक रुपमा उत्पादन बढाएर बाहिर निर्यात गर्न सके रोल्पालीको समृद्धिको आधार बन्ने थियो । गाई, भैँसीबाट उत्पादित दुधबाट विभिन्न परिकारहरु बनाएर बजारीकरण गर्न सके राम्रो आम्दानीको स्रोत बन्छ ।

कृषिमा सोचेजस्तो उत्पादन नहुनुको कारणः

कृषि एउटा महत्वपुर्ण विषय हो । जसको एकदमै महत्वपुर्ण भूमिका हुन्छ । जसविना प्राणिको अस्तित्व रहन सक्दैन । मानिसलाई आफ्नो जीवन निर्वाह गर्नको लागि आवश्यक पर्ने खाद्य तथा पौष्टिक तत्वहरु हामीले कृषिबाट प्राप्त गर्ने हो । वर्तमान अवस्थालाई हेर्दा तत्काल कृषि बाहेक भरपर्दो माध्यम अरु खासै देखिदैन । कृषि नै देशको समृद्धिको आधार बन्नु पर्छ ।
देशमा अनेकौ सम्भावनाहरु छन् । त्यसतर्फ राज्यको ध्यान जान सकेको छैन् ।

कृषिमा सोचेजस्तो आम्दानी वृद्धि गर्नको लागि कृषिलाई आधुनिकीकरण र व्यवसायिकरण गर्न जरुरी छ । विकसित देशहरुमा नविन प्रविधिबाट कृषिबाट फड्को मारिरहेका छन् । नेपालमा पनि कृषिलाई व्यवसायिकरण र आधुनिकीकरण गर्दै जाने हो । भने कृषिमा आत्मनिर्भर बन्न सकिन्छ । कृषि क्षेत्रलाई व्यवसायिकरण र आधुनिकीकरण गर्न तीनै तहका सरकारले गम्भिर रुपमा समिक्षा गर्न जरुरी छ ।

सरकारले कृषि क्षेत्रको विकासको लागि कृषकलाई हैसला दिने कार्यक्रम अगाडि बढाउनु पर्ने देखिन्छ । राज्यले कृषि सम्बन्धि नीति नियम बनाउँदा दुर्गम तथा ग्रामिण क्षेत्रको कृषिलाई सामूहिक खेती प्रणालीको अवधारणा अघि बढाउन सके गरिवी तथा बेरोजगारी हटाउन सहयोग पुग्न सक्छ । कृषि उत्पादनको अभियान, कृषकलाई पुरस्कृत, सहुलीयत अनुदान, सिंचाइको व्यवस्था, समयसमयमा कृषकहरुलाई तालिमको व्यवस्था, कृषि प्राविधिकको सहयोग लगायतको व्यवस्थापन गर्न सके कृषिमा धेरै सुधार हुन्छ ।

विश्व सूचना प्रविधिको क्षेत्रमा अघि बढिरहेको छ । सूचना प्रविधिलाई पनि कृषि कर्मसँग जोडेर केही देशहरुले राम्रो फाइदा लिईरहेका छन् । सूचना प्रविधिसँग नजिक हुन सके कृषि क्षेत्रबाट देश कायापलट हुने थियो ।

रोल्पाका सबै गाउँबस्तीमा यातायात, विद्युत, शिक्षा, स्वास्थ्य लगायतका आधाभूत पूर्वाधारको पहुँज पुग्न सकेको छैन् । यातायातको पहुँच नपुगेको क्षेत्रमा कृषकले गरेको उत्पादन बजारीकरण हुन सकिरहेको छैन ।

पर्यटन व्यवसाय :

रोल्पालीको समृद्धिको दोस्रो प्रमुख आधार पर्यटन व्यावसाय पनि बन्न सक्छ । पर्यटनकको चहलपहल बढेमा व्यापार व्यावसायमा वृद्धि हुने हो । रोल्पामा पर्यटनको सम्भावनाको धेरै छ । सामान्य अर्थमा पर्यटन भन्नाले एक ठाउँबाट अर्को ठाउँमा घुम्नु भन्ने बुझिन्छ । वर्तमान समयमा विश्वमा पर्यटन उद्योग पनि देशको मुख्य आयस्रोत बनेका छन् । यस अर्थमा पनि नेपाल विविधताले भरिपुर्ण देश हो त्यसकारण पनि यहाँ पर्यटकीय क्षेत्रमा पनि अनेकौ सम्भावना देख्न सक्छौँ ।

नेपालको विभिन्न भूभागमा विदेशी तथा स्वदेशी पर्यटकको चहलपहल बढ्दो क्रममा छ । तर नेपाल घुम्ने पर्यटक संख्या मध्य एकाध मात्रामा मात्र रोल्पा घुम्न आएको पाइन्छ । रोल्पामा पनि पर्यटकको घुमफिरको लागि एक उत्कृष्ट गन्तव्य स्थल बन्न सक्छन् । यस विषयमा सरोकारवालाको चासो र लगानी गर्न सके अति नै सम्भावना देखिन्छ । रोल्पालाई पर्यटन क्षेत्रको विकासको आधारको रुपमा धार्मिक पर्यटन, युद्ध पर्यटन, साँस्कृतिक पर्यटन लगायतलाई प्रमुख आधार मान्न सकिन्छ । यि क्षेत्रबाट रोल्पालाई पर्यटक आकर्षकको केन्द्र बनाउन सकिन्छ ।

धार्मिक पर्यटनमा समृद्धिको आधारः

रोल्पामा धार्मिक पर्यटनको हिसाबले हेर्दा रोल्पाको जलजला, चतुर्भुजको शिव मन्दिर, खुङ्ग्रीको देवीस्थान मन्दिर, रुन्टी, गढी, बडाचौरको बराह मन्दिर, लिस्ने लेक लगायतका धार्मिक सम्पदालाई धार्मिक पर्यटनको आधार मान्न सकिन्छ । जलजला, रुन्टी, लिस्ने लगाएतका क्षेत्रहरु धार्मिक साथै जैविक विविधताले भरिपुर्ण क्षेत्रहरु पनि हुन् । यि क्षेत्रहरुको आ–आफ्नै किंवदन्ती छन् । यि क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटनलाई तान्नको लागि राज्यले सोच्नुपर्ने छ ।


रोल्पाको जलजला, लिस्ने लगायतका ठाउँमा मानिसको चहलपहल बढाउन यि क्षेत्रका बस्तीहरुमा पर्यटकहरुको सुविधाको लागि होमस्टे, पर्यटकहरुलाई गन्तव्य सम्म पुर्याउनको लागि गाइडको व्यवस्था हुनुपर्छ । जलजला एकसय पर्यटकीय गतव्यमा परेको पर्यटकीय स्थल हो । यि बाहेक प्राकृतिक सौन्दर्यतालाइ हेर्दा सुनछहरी झरना, विवाङ दह, कोठिभिर, सातदोबाटोमा रहेको रक गार्देन, लगाएतका क्षेत्रहरु रहेका छन् । रोल्पामा अनेकौ धार्मिक संरचनाहर ओझेलमा परेका छन् ।

युद्ध पर्यटनमा समृद्धिको आधारः

रोल्पामा १० वर्षे सशस्त्र द्वन्द्वको आधारभूमी हो । द्वन्द्वको समयमा घटना भएका ठाउँहरुलाई युद्ध पर्यटनको हिसाबले राम्रो सम्भावना देखिन्छ । रोल्पामा १० वर्षे सशस्त्र द्वन्द्वबाट सबै भन्दा बढी प्रभावित जिल्ला पनि हो । द्वन्द्वमा धेरै रोल्पालीले ज्यान गुमाएका थिए । रोल्पाको होलेरी, थबाङ, लिस्ने लेक, पाटेगुम्चाल, हार्जङ, भाबाङ, जेलबाङ लगायतको क्षेत्रलाई युद्ध पर्यटनको रुपमा विकास गरेर अगाडी बढाउन सकिन्छ । १० वर्षे सशस्त्र द्वन्द्वको समयमा भएका विभिन्न घटनाहरुको सार दिने खालको वस्तुहरुको युद्ध पर्यटनको रुपमा राख्दा त्यहाँ ति वस्तुहरुको अवलोकन गर्न आउने मान्छेको संख्यामा वृद्धि हुने थियो र पर्यटन व्यवसायमा सफलता मिल्ने थियो ।

रोल्पा नगरपालिका वडा नं. ३ सातदोबाटो स्थित जनयुद्ध स्मृति भ्युटावर पनि युद्ध पर्यटनको एक हो । यि बाहेक रोल्पाका विभिन्न ठाउँमा युद्धका संग्राहलय बनाउने नाममा धेरै संरचनाहरु तयार पारिएको छ । युद्धको झल्को दिने र युद्धमा ज्यान गुमाएकाहरुको सम्झनाको लागि विभिन्न पार्क तथा जनयुद्ध संङ्ग्रालय लगायतको नाम दिएर विभिन्न संरचनाहरु बनाइएको छ । यसरी अन्य क्षेत्रमा पनि युद्ध पर्यटनको विकास गर्न सके रोल्पामा पर्यटनको सम्भावना छ । युद्ध पर्यटनलाई अध्ययन गर्ने ठाउँको रुपमा विकास गर्न आवश्यक छ ।

आन्तरिक तथा बाह्य पर्यटकहरु युद्धको बारेमा लगायत समग्र रोल्पाको बारेमा अध्ययन गर्ने खालको बातावरण बनाउन सके राम्रो हुने थियो । तत्कालिन समयमा घटना भएका क्षेत्रहरुलाई राज्यले संरक्षण गरेर पदयात्रा र होमस्टेको विकास गरेर पर्यटन तान्न सके पर्यटन र व्यापारमा राम्रो सम्भावना छ । युद्ध पर्यटनको माध्यमबाट यहाँको मैलिक उत्पादनको प्रचार प्रसार गर्ने माध्यम बन्न सक्थ्यो । साथै उत्पादनको पनि राम्रो बजारीकरणको स्रोत बन्ने थियो ।

सास्कृतिक पर्यटनमा समृद्धिको आधारः

नेपाल एक बहुजातिय, बहुभाषिय, बहुसांस्कृतिक देश हो । त्यसकारण पनि नेपालमा यहाँको संस्कार संस्कृतिसँग रम्नका लागि आत्तरिक तथा वाह्य पर्यटकको घुइचो हुने गर्दछ । रोल्पामा भएको संस्कार संस्कृतिको अवलोकन गर्नको लागि आन्तरिक तथा बाह्य पर्यटक तान्न सके सांस्कृतिक पर्यटनको पनि प्रचुर सम्भावना रहेको छ । रोल्पा जिल्लामा पनि छुट्टै खालको सांस्कृतिक पहिचान रहेको छ । यहाँ रहेको विभिन्न खालका रैथाने संस्कृतिको प्रद्धर्शन गरेर पनि पर्यटक तान्न सकिने सम्भावना छ

रोल्पाको विभिन्न भेगमा रहेको सार्ङगे नाच, पैसेरु नाच, सालइजो नाच, सिङ्गारु नाच, धामी नाच, झाक्री नाच, भूमे नाच, मयुर नाच, लगायतका नाचहरु अन्य ठाउँका मानिसका लागि नौलो प्रस्तुती रहन्छ । यसको अवलोकनाका लागि पर्यटकको चहलपहल हुनसक्छ । यसले लोपउन्मुख अवस्थामा रहेको स्थानीय सस्कृतिको संरक्षणमा समेत सहयोग पुग्नुका साथै स्थानीय स्तरमा रोजगारीको सृर्जना हुने सम्भावना देखिन्छ ।

अन्तमाः
विश्वका धेरै देशहरु पर्यटन व्यवसाय नै देशको मुख्य आयस्रोत भैरहदा नेपालमा त्यसो हुन सकेको छैन् । नेपालमा पर्यटनको अनेकौ सम्भावना हुदाँ हुदै पनि पर्यटन क्षेत्रमा सोचेजस्तो लाभ लिन सकिरहेको देखिदैन ।

नेपालमा पर्यटन क्षेत्रको विकास गर्नको लागि धेरै कुराहरु बाधा बनिरहेका छ । पर्यटन क्षेत्रको विकास गर्न सरकारले उचित खालको कानुन बनाएर अगाडी बढ्नु पर्छ साथै पर्यटन क्षेत्रमा सोही अनुसारको लागानी पनि गर्नुपर्छ । नेपालका धेरै क्षेत्रहरु छन् । जुन क्षेत्रलाई विश्वलाई चिनाउन जरुरी छ । त्यस्ता क्षेत्रहरुलाई खोजी गरी प्रचारप्रसार गरी विश्व सामु पुर्याउन र बाह्य पर्यटकको संख्यामा वृद्धि गर्नु अबको प्रमुख दायिचत्व हो ।

स्वदेशी उत्पादन र यहाँको संस्कार संस्कृतिको संरक्षणमा सबै एक भएर लाग्नुपर्ने देखिन्छ । यसो गरेमा नेपालको अर्थतन्त्रमा सुधार हुने छ । समग्र रोल्पाले व्यावसायिक कृषि खेती र पर्यटन व्यवसायलाई मात्र पनि प्राथमिकता दिने हो भने पनि राम्रो लाभ लिन सकिने सम्भावना देखिन्छ ।

प्रकाशित मिति : २०८१ बैशाख १२ गते बुधवार
प्रतिक्रिया दिनुहोस