
काठमाडौँ। प्रदेश नं १ मा अहिलेसम्म पाँच हजार ५१८ जनामा कोरोना परीक्षण भएको छ। द्रूत परीक्षण विधि (आरडीटी)बाट आइतबारसम्म जम्मा चार हजार ५४५ र ल्याबमा नमूना ल्याएर गरिने परीक्षण (पिसीआर) विधिबाट ९७३ जनाको नमुना परीक्षण भएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा रहेको सूचना डेस्कका अनुसार आरडीटीबाट तीन हजार ८०८ जना पुरुष र ७३७ जना महिलाको परीक्षण भएको छ । पिसीआरतर्फ ७२० पुरुष र २५३ जना महिलाको परीक्षण भएको छ । प्रदेशमा ३० जनामा हालसम्म कोरोना सङ्क्रमण देखिएको छ। प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइन स्थलमा बस्नेको सङ्ख्या आइतबारसम्म कूल एक हजार ७७१ जना पुगेको छ । ४७ जना घर गएका छन् । क्वारेन्टाइनमा ३०८ महिला र एक हजार ४६३ पुरुष छन्। आइसोलेसनमा स्वास्थ्यकर्मीको निगरानीमा ३० जना छन्। एकजना डिस्चार्ज भएका छन्। होम क्वारेन्टाइनमा जम्मा पाँच हजार ७६० जनामा महिला एक हजार दुई जना र पुरुष चार हजार ७५८ जना रहेका छन्।