
१५बैशाख, रोल्पा । रोल्पामा सोमबारबाट भएको आगलागीका कारण ३१ घर, गोठ जलेर पुर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्वर २ को कापडाँडा गाउँका १९, बर्तिबाङ गाउँका ६ र सानो चेत्रे गाउँका ६ गरी ३१ घर गोठ जलेर पुर्णरुपमा क्षति भएको स्थानीय इश्वरी घर्तीमगरले बताएकी छन् ।
प्रहरीको प्रारम्भीक तथ्यांकमा २६ घर जलेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए । अन्य जलेका वस्तुभाउ बस्ने गोठ रहेका छन् । यस बारेमा थप अनुसन्धान भइरहको प्रहरीले जनाएको छ ।
रामपुर गाउँ र चेत्रे गाउँको जंगलमा लागीरहेको आगो नियन्त्रणमा लिनको लागि गाउँले र सुरक्षाकर्मीहरुले प्रयास गरिरहेको भएपनि आगो नियन्त्रण बाहिर गएको घर्तीले बताइन् ।
आगलागीमा परी २० वटा बाख्रा, १३ वटा गाई जलेर मरेका छन् । सोही वडाको पिराले, धानबाङ, रामपुर, प्युरी लगायका गाउँ र जंगलमा पनि ३ दिनदेखि आगलागी भइरहेको छ ।
३ दिनमा त्रिवेणी गाउँपालिका वडा नम्वर २ का २/३ वटा गाउँ बाहेक सबै जस्तो भुभागमा आगलागी भएको छ । यता हिजो साँझबाट सोही ठाउँबाट आएको आगोको झिल्को सल्कीएर रुन्टीगढी गाउँपालिका वडा नम्वर ९ को सर्पाल र गुनाम गाउँको काकरिबाङ, गुनाम भित्ता र बजेरी जंगलमा पनि आगलागी भइरहेको छ ।
३ दिनदेखि गाउँ र जंगलमा लागेको आगो नियन्त्रणका लागि स्थानीयबासी सुरक्षाकर्मीहरु खटिएपनि अझै आगो नियन्त्रणमा आउन सकेको छैन् । रातभर स्थानीयलाई आफ्ना सरसामान बाहिर निकालेर सुरक्षित स्थानमा बस्नका आग्रह गरिएको रोल्पाका प्रहरी प्रमुख डिएसपी सुवेदीले बताए । उनका अनुसार आगो अझै नियन्त्रणमा आइसकेको छैन् ।
आगलागीबाट भौतिक क्षति भएपनि अहिलेसम्म मानवीय क्षति भएको छैन् । आगलागी भएको ठाउँ तर्फ क्षति अध्ययनका लागि रोल्पाका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा सहितको टोली हिडेको छ । आगो कसरी लाग्यो भन्ने बारेमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।