
१५वैशाख,राेल्पा । आगलागिबाट रोल्पामा ४२ वटा घरगोठ जलेका छन् । त्रिवेणी गाउँपालिका २ पिराले गाउँ नै सखाप भएको छ । उक्त गाउँमा फुसका छाना भएका २६ वटा घर सबै जलेरका छन् ।
सोमबारबाट यस वडाका विभिन्न ५ वटा सामुदायीक वनमा आगो लाग्न सुरु गरेको थियो । हिजो साँझ ७ बजेदेखि मानविय वस्तीमै आगो लागेको थियो । २ नम्वर वडाकै बर्तिबाङ गाउँमा ९, चेत्रे गाउँमा ४ र यसै गाउँपालिकाको ३ नम्वर वडामा ३ वटा गरी ४२ वटा घरगोठ जलेर नष्ट भएका छन् । आगलागीबाट घरमा भएका सम्पुर्ण सामानहरु जलेर नष्ट भएका छन् ।
१६ वटा बाख्रा, ७ वटा गाई, एउटा सुंगुर जलेर मरेका छन् । तत्कालिन नुवागाउँ गाविसका १, २, ३, ४ वडामा आगो फैलिएको छ । घर जलेपछि ३५ घरपरिवार खुल्ला आकासमुनि बसीरहेका छन् ।
नेपाल रेडक्रस सोसाइटी र गाउँपालिकाले चिउरा, चाउचाउ, त्रिपाल जस्ता राहत दिएको छ । त्रिवेणी गाउँपालिकाबाट सुरु भएको आगलागी रुन्टीगढी गाउँपालिकाको ९ नम्वर वडाको सर्पाल र गुनाम गाउँको जंगलमा पुगेको छ । सर्पाल गुनाम लगायत ठाउँका ३ सयबढी घर आगलागीको जोखिममा रहेका छन् ।
आगलागी भएको वस्तीमा खानेपानी, विजुली बत्ती, अवरुद्ध भएको छ । वस्तीमा लागेको आगो नियन्त्रण आएको भएपनि जंगलमा लागीरहको आगो नियन्त्रणमा अझै पनि आउन नसकेको रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले बताए ।
आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, स्थानीय लागि परेका छन् । आगलागीबाट भएको क्षतिको विवरण संकलन भइरहेको डिएसपी सुवेदीले बताए । ३ सय हेक्टर भन्दाबढी जंगलमा आगलागी भएको अनुमान गरिएको छ ।