जन–स्वास्थ्यप्रति गाउँपालिकाले बेवास्ता गर्दा राेल्पाकाे गंगादेवमा व्यापक कोरोना फैलियाे

२०वैशाख,राेल्पा रोल्पाको गंगादेव गाउँपालिका कोरोना संक्रमणले भयानक रुप लिँदै गरेको छ। शुक्रबार एकै दिन ४२ जना संक्रमित फेला परेपछि गाउँ–गाउँमा त्रास फैलिएको छ।

गंगादेवमा ५० भन्दा बढी संक्रमित पहिचान भइसकेका छन्। कोरोनाबाट वडा नम्बर ३ की एक महिलाको समेत मृत्यु भइसकेको छ।  संक्रमित हुनेहरुमा अधिकांश गाँउपालिकामा कार्यरत कर्मचारी, जनप्रतिनिधि र केही स्थानीयहरु समेत रहेका छन्।

कोरोना संक्रमितहरुको अवस्थामा गाउँपालिका बेखबर रहेको स्थानीयहरुले अरोप लगाएका छन्। कोरोना लागेकाहरु बारेमा गाउँपालिका कुनै ‘अपडेट’ नै छैन।

एकै दिन ४२ जना संक्रमित भेटिएपश्चात् संक्रमितहरुको ‘कन्ट्रयाक ट्रेसिङ’ पनि गरिएको छैन। गाँउपालिकाले कुनै वास्ता नगर्दा होटेलमा खाना खाएर आफ्नै कोठfमा सुत्न बाध्य छन्।

कोभिड–१९ संक्रमितको स्वास्थ्यका सन्दर्भमा गाउँपालिका चूपचाप रहेको र उनीहरुबारे खासै कसैले चिन्ता नलिएको एक जना संक्रमितले बताएका छन्।

स्थानीयका अनुसार शनिबार फेला परेका ४२ जना संक्रमितहरुमध्येका केही विभिन्न सभा, सम्मेलन, पूजामा सहभागी भएका थिए। आजभोलि गाँउ–गाँउमा कोरोना संक्रमणको लक्षण गर्नमा स्थानीय सरकार अनुदार देखिएको अरोप छ।

कोरोना देखिएकाहरु उपचार बिना नै घरमा बस्न बाध्यको उनीहरुको गुनासो छ। गंगादेव गाउँपालिकाले प्रभावित जनताको स्वाब संकलन र परीक्षणमा कुनै पनि चासो नदिँदा जोखिम मोलेर घरमा बस्न बाध्य भएको स्थानीयले बताएका छन्।

कोरोना संक्रमण न्यूनिकरणको लागि गाउँपालिकाको ध्यान नपुगेको गाउँपालिकाका एक कर्मचारीले बताए। उनले भने, ‘गाउँपालिका अध्यक्ष कोरोना रोकथानमा सिरियस् देखिनुभएको छैन। हामीहरुले बारम्बार अनेक उपाय बताउँदा समेत वास्ता गर्नुभएन। उहाँको अटेरीले गंगादेवमा थप संकट थपिरहेको छ।’

कोरोनासँग मिल्दो जुल्दो लक्षण भएका सयौँ बिरामीहरू पहिचानको लागि स्वाब संकलन लागि पटकपटक गाउँपलिकालाई आग्रह गर्दा पनि जनप्रतिनिधिहरुले वास्ता गरेका छैनन्।

प्रकाशित मिति : २०७८ बैशाख २० गते सोमवार
प्रतिक्रिया दिनुहोस