हामी १२ औँ वर्षमा प्रवेश

जनआकांक्षा साप्ताहिक आजबाट १२ औँ वर्षमा प्रवेश गरेको छ । २०७१ वैशाख २८ गते रोल्पाको सदरमुकाम लिबाङबाट ‘लैङ्गिक समानता र निष्पक्ष समाचारका लागि’ भन्ने नारा साथ हामी आएका थियौँ । अर्थात यस अङ्क देखि हामीले हाम्रो अङ्कमा वर्ष १२ लेख्ने सुअवसर प्राप्त गरेका छौँ । 

जनआकांक्षा रोल्पा जिल्लामै पहिलो पटक प्रकाशक, सम्पादक देखि व्यवस्थापक लगायत अन्य सबै पदमा महिलाहरूको संलग्नतामा सञ्चालित पत्रिका हो । त्यसैले पनि लैङ्गिक समानताका कुराहरूलाई विशेष जोड दिने लक्ष्यका साथ सुरुदेखि हालसम्म हामीले महिला तथा बालबालिकाका विषय वस्तुलाई सँधै प्राथमिकताका साथ स्थान दिदैँ आएका छौँ ।

आगामी दिनमा पनि दिइरहने छौँ। यसको मतलब अन्य विषय वस्तुलाई स्थान नदिएको भन्ने होइन। हामीले अन्य विषय वस्तुलाई पनि उत्तिकै स्थान दिइरहेका छौँ। सुरुदेखि नै हामीले गाउँघरका खोजमूलक र स्थानीय समाचारलाई महत्व दिएर पत्रिका प्रकाशनलाई निरन्तरता दिइरहेका छौँ ।

जिल्लामा भइरहेको विकास निर्माण र विभिन्न सामाजिक अभियानहरूमा हामी सम्बन्धित निकायहरूसँग प्रत्यक्ष हातेमालो गर्दै रोल्पाको समग्र विकासमा हाम्रो पनि संलग्नता रहने गरेको छ त्यसको प्रशंसा र धन्यवाद पनि बेला बखत हामीले पाइनै रहेका छौँ ।

यो सूचना र सञ्चारको युगमा पछिल्लो समय प्रविधिमा आएको विकास सँगै हामीले हाम्रो पाठक वर्गको सहजताका लागि जनआकांक्षाको डिजिटल संस्करण अनलाइन साझा डटकम (onlionesajha.com) लाई २०७८ सालदेखि सञ्चालनमा लिएकाछौँ । 

हामीलाई यहाँसम्म आउनका लागि हाम्रा आदरणीय पाठक वर्ग, शुभेच्छुक, विज्ञापनदाताको महत्वपूर्ण भूमिका रहेको छ । साथै यस सुखद अवसरमा हामी उहाँहरु सबैलाई धन्यवाद सहित हार्दिक कृतज्ञता ज्ञापन गर्दछौँ । साथै आगामी दिनहरूमा पनि यहाँहरूको सहयोगको निरन्तरताको अपेक्षा गर्दै आउँदा अंकहरुलाई अझै स्तरीय र व्यवस्थित बनाउदै लैजाने कुरा हामी यहाँहरू माझ प्रतिवद्धता समेत व्यक्त गर्दछौँ ।

प्रकाशित मिति : २०८२ बैशाख २८ गते आइतवार
प्रतिक्रिया दिनुहोस