११जेठ,रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिकामा २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
गाउँपालिकाले मंगबार गरेको एन्टिजेन परीक्षणमा १९ जना पुरुष र ९ जना महिला गरि २८ जनामा कोरोना पोजेटिभ देखिएको पोबाङ स्वास्थ्य चौकीका इन्चार्ज जनक गिरीले जानकारी दिए ।
संक्रमितहरु वडा नम्बर २ र ३ गामका स्थानीय व्यापारी, सुरक्षाकर्मी, कर्मचारी र स्थानीयहरु रहेको सुनछहरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष मोतबहादुर घर्तीमगरले बताए।
गाउँपालिकाले वडा नम्बर २ भित्रीगाम र वडा नम्बर ३ बाहिरीगामलाई लक्षित गरी ४० जना पुरुष र १२ जना महिलालाई एन्टिजेन परिक्षण गरिएको थियो।
कोरोना पोजेटिभ देखिएकाहरूको स्वास्थ्य अवस्था अहिलेसम्म सामान्य रहेको इन्चार्ज गिरीले बताए । स्वास्थ्य अवस्था सामान्य रहे पनि ५ दिनको लागि विभिन्न प्रकारका औषधि दिई होम आईसोलेशनमा सुरक्षीत बस्न परामर्श सहित घर पठाइएको स्वाथ्य चौकीका इन्चार्ज गिरीले जानकारी दिएका छन् ।
संक्रमितहरुको स्वास्थ्यमा कुनै समस्या आएमा उपचारको व्यवस्था मिलाइएको वडाध्यक्ष घर्तीमगरले बताए।
सुनछहरी गाउँपालिकामा हालसम्म ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेकाले होम आइसोलेशनमा बसिरहेको गाउँपालिका स्वास्थ्य संयोजक जगत बुढाले बताए।
कोरोना संक्रमितहरुको संख्या बढिरहेको भन्दै गाउँपालिकाले वडा नम्बर ३ बाहिरीगामलाई जेठ २४ गतेसम्म सिल गर्ने निर्णय भएको वडाध्यक्ष घर्तीमगरले बताए।


