पत्रकार मिनराज पुरस्कृत

१३जेठ, रोल्पा । पत्रकार मिनराज रोका पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ रोल्पाबाट वितरण हुने गरी स्थापना गरिएको कृष्ण सेन ‘इच्छुक’/लछुमन पत्रकारिता पुरस्कार-२०८२ बाट पुरस्कृत भएका हुन् । २३ औं कृष्ण सेन इच्छुक स्मृति दिवसको अवसरमा लिबाङमा मंगलबार महासंघद्वारा आयोजित एक कार्यक्रममा रोकालाई नगद पाँच हजार सहित प्रमाणपत्रले सम्मान गरियो।

नेपाल पत्रकार महासंघ रोल्पाकी उपाध्यक्ष हिमाली खड्का संयोजकत्वमा रहेको तीन सदस्यीय पुरस्कार छनौट समितिले रोकालाई छनौट गरेपछि पुरस्कृत गरिएको हो । कान्तिपुर टि भिका रोल्पा संवाददाता रहेका रोकालाई पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै पुरस्कृत गरिएको जनाईएको छ । उक्त पुरस्कार नेपाल पत्रकार महासंघ रोल्पाका पुर्व अध्यक्ष मानसिंह विकको परिवारले स्वर्गीय बुवा लछुमनको सम्झनामा स्थापना गरेका हुन् । पत्रकार रोका जनआकांक्षा साप्ताहिक र अनलाइन साझामा समेत आवद्ध छन् ।

कार्यक्रमका प्रमुख अतिथि रोल्पा नगरपालिकाका नगर प्रमख सुरेन्द्र थापा (घर्ती) ले माला र खादा लगाएर सम्मान गर्दै पुरस्कार हस्तान्तरण गरेका थिए । स्मृति दिवसमा इच्छुले पत्रकारिता, सहित्य र राजनीतिमा पुर्‍याएको योगदानको चर्चा गरिएको थियो । तत्कालीन राज्यसत्ताबाट भएको इच्छुक हत्या घटनाको सत्य तथ्य छानबिनको खाँचो रहेको वक्ताहरूले औल्याएका थिए । कार्यक्रममा नगर प्रमुख थापा (घर्ती), जिल्ला समन्वय समिति रोल्पाका उपप्रमुख कर्मलाल परियार, पुर्व नगर प्रमुख पुरण क्षत्री, नेपाल पत्रकार महासंघ रोल्पाका संस्थापक सभापती काशीराम डाँगी, पुर्व अध्यक्ष खेम बुढामगर, निवर्तमान अध्यक्ष नविनलोचन मगर, सल्लाहकार लोकेन्द्र चन्द र साहित्यकार डिवी टुहुरोले मन्तव्य राखेका थिए । पुरस्कार स्थापनाको सन्दर्भबारे पुर्व अध्यक्ष मानसिंह बिकले धारणा राखेका थिए ।

महासंघकी उपाध्यक्ष हिमाली खड्काको स्वागत मन्तव्य एवं सचिव तिलक घर्तीको संचालनमा सम्पन्न कार्यक्रमको अध्यक्षता महासंघकी अध्यक्ष खुविना सुनारीमगरले गरेकी थिईन । सह-आयोजकमा प्रेस सेन्टर रोल्पा रहेको थियो ।

प्रकाशित मिति : २०८२ जेष्ठ १४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस