चालू आवमा १५ खर्ब ३० अर्ब रूपैयाँमात्र बजेट खर्च हुने अनुमान

१५जेठ,काठमाडौं । आर्थिक वर्ष २०८०/८१ मा १५ खर्ब ३० अर्ब रूपैयाँमात्र बजेट खर्च हुने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै ८७ प्रतिशतमात्र खर्च हुने अनुमान गरेका हुन् ।

उनले चालू आर्थिक वर्षको लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएको भन्दै १५ खर्ब ३० अर्ब खर्च हुने अनुमान गरे । चालू आवमा चालूतर्फ १० खर्ब ६७ अर्ब, पुँजीगततर्फ २ खर्ब १५ अर्ब र वित्तीय व्यवस्थातर्फ पुँजीगतभन्दा बढी अर्थात २ खर्ब ४७ अर्ब रुपैयाँ खर्च हुने अनुमान गरेको बताए ।

सरकारले चालूतर्फ १० खर्ब ७ अर्ब, पुँजीगततर्फ २ खर्ब ५४ अर्ब र वित्तीय व्यवस्थातर्फ २ खर्ब ६८ अर्ब रूपैयाँ खर्च हुने लक्ष्य राखेको थियो । चालू आर्थिक वर्षमा १२ खर्ब ५३ अर्ब ५२ करोड रुपैयाँ राजश्व संकलन हुने संशोधित अनुमान गरिएको पुनले बताए ।

सरकारले चालू आर्थिक वर्षमा १४ खर्ब ७२ अर्ब ४८ करोड रूपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, आर्थिक शिथिलताका कारण यो वर्ष लक्ष्यानुसार राजश्व संकलन हुन नसकेको पुनले बताए ।

प्रकाशित मिति : २०८१ जेष्ठ १५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस