१६जेठ, कुल्लू–मनाली । हिमाचलको चिसो सिरेटो र बर्खे झरीसँगै तरकारी बारीमा भेटिन्छिन्, ४६ वर्षीया गीतादेवी। मजदुरीका लागि रोल्पाबाट तीन वर्षअघि श्रीमान रिमबहादुरसँगै भारतको पहाडी उपत्यका उदयपुर आएकी उनी आजभोलि खेतबारीमा खटिइरहेकी छन्।

‘कोरोना महामारीअघि श्रीमान साहुजनको स्याउबारीमा काम गर्नुहुन्थ्यो। मैले पनि साहुको घरमा काम गर्थेँ। चारैतिर कोरोना फैलिएपछि मजदुरी गर्न सकेनौं, गीतादेवीले भनिन्,’ ‘एकदिन मैले श्रीमानसँग जग्गा भाडामा लिएर तरकारी खेती गर्ने सल्लाह गरेँ। उहाँ पनि राजी हुनुभयो। मलाई खेतबारीमा काम गर्न धेरै मनपर्छ।’

गीतादेवी तरकारी हुर्काउँदै बारीमा रमाउन थालेको ठ्याक्कै तीन वर्ष भयो। एकाबिहानै तरकारी गोडमेल गर्न खेतमा जान्छिन्, उनी। दिउँसो टिपेर बोरीमा थन्क्याउँछिन्। बेलुकी डेराछेउको तरकारी बजारमा पुर्‍याउँछिन्।

‘उदयपुर रोल्पाजस्तै लाग्छ। हावा–पानी पनि राम्रो छ। बारीमा राम्रो दुःख गरेपछि तरकारी पनि राम्रै फल्छ। हाम्रो तरकारी बजारमा पुर्‍याउनै पर्दैन, छिमेकीहरू किन्छन्,’ तरकारी बारीमा काम गरिरहेकी उनले बताइन्।

०००

प्राकृतिक सौन्दर्यता, तरकारी खेती र स्याउ उत्पादनका लागि किन्नौर, कुल्लू–मनाली, शिमला, कोक्सार, उना, उदयपुर क्षेत्र प्रसिद्ध मानिन्छन्। यी ठाउँमा बसोबास गर्ने नेपाली मजदुरहरू पछिल्लो समय प्राकृतिक खेतीतर्फ आकर्षित भएका छन्।

हिमाचलका महिला मजदुरको तरकारी खेतीले नेपाली समाजमा आत्मविश्वास जगाइरहेको नेपालीमूलकी युवती गंगाशरणी विष्ट बताउँछिन्। ‘लोग्ने मान्छेको साथ लागेर यहाँ आएका हाम्रो नेपाली दिदीबहिनीहरू पहिले–पहिले घरभित्रै बस्थे। भारी बोक्ने काम गर्थे। त्यो काम राम्रो थिएन। तर उनीहरू खेतीमा संलग्न भएपछि मलाई राम्रो लागेको छ। आम्दानी पनि राम्रै गरिरहेका छन्,’ उनले भनिन्।

५८ वर्षीया गंगाबहादुर थापा ९दैलेख० ले कुल्लू–मनालीको मलिलो माटोमा बन्दा, मूला, धनिया, आलु, मटर, गाजर, लौका फलाएका छन्। हिमाचलको पहाडी भेगमा आफ्नो उर्जाशील समय भारी बोकेरै बिताएका उनी आजभोलि बारीमा तरकारीसँग खेल्छन्।

छोराछोरीहरू आ(आफ्नो पेशामा लागिसकेपछि दंग छन्, गंगाबहादुर। ‘पहाडमा भारी बोकी–बोकी बच्चाबच्ची ठुल्ठूला बनायौं। उनीहरू आ(आफ्नो काममा लागेका छन्। अहिले बुढाबुढी छौं। तरकारी फलाउँछौं,’ उनले भने।

उनी कुल्लू–मनाली आएको चार दशकभन्दा बढी भयो। श्रीमती लिला पनि तरकारी खेतीमै रमाइरहेकी छन्। गंगाबहादुर र लिलाका तीन सन्तान छन्। जेठा छोरा शिमलामा जागिरे छन्। छोरी मुम्बईमा छिन्। अर्का छोराले कुल्लूमा कृषि विज्ञान नै पढिरहेका छन्।

नेपाली मजदुरहरू कुल्लू–मनालीका मुख्य सहर–बजारमा कोरोनाअघि ज्यादै भेटिन्थे। तर महामारीपछि कमै देखिएका छन्।

कतिपय नेपाली मजदुरी गर्नुको सट्टा जग्गा भाडामा लिएर आफैंले तरकारी खेती गरिरहेका छन्। उनीहरू आ-आफ्नो बारीमा बन्दा, काउली, मटर, मुला, सिमी, लौका, फर्सी र आलु फलाउँछन्। हिमाचलमा तरकारी खेती आम्दानीको राम्रो स्रोत बनेको उनीहरू बताउँछन्।

कुल्लू–मनालीदेखि उदयपुरसम्म नेपाली नै नेपाली भेटिन्छन्। उनीहरू जताततै नेपालका डाँडापाखा बिर्साउने गरी तरकारी खेतीमा खटिएका छन्। कतिपय नेपाली मजदुरहरूले स्याउ, बदाम, अंगुर र ओखरजस्ता दिगो खेती पनि गरिरहेका छन्। उनीहरू पूर्णरुपमा पहाडी क्षेत्रमा रमाइरहेका छन्।

नेपाली कृषकको तरकारी उब्जनीले यहाँको बजारमा ताजा तरकारीको ओइरो छ। कुल्लू–मनालीका नेपाली तथा गोर्खाहरूले वर्षेनी करोडौंको तरकारी व्यापार गर्दैआएको स्थानीय पत्रकार राजिवकुमार बताउँछन्।

काम खोज्दै भारतीय उच्च हिमाली राज्य धाएका कैयौं नेपाली मजदुरहरूले विस्तारै–विस्तारै जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन्। उनीहरू स्याउको सिजनमा स्याउ टिप्छन्। त्यसअघि अधिकांश नेपालीहरू उत्पादनमा लागेका छन्। तरकारीले राम्रो आम्दानी थपिरहेको छ।

शिमला, कुल्लू–मनाली, उदयपुरका विभिन्न गाउँ–ठाउँमा थुप्रै नेपालीहरू स्याउ सिजनको उपयोग गर्छन्। उनीहरूले ज्याला गरेर पनि राम्रो कमाइ गरेका छन्। थप चासो बढ्दै गएपछि अहिले नेपाली मजदुरले तरकारी खेती गर्न एक वर्षयता कुल्लू–मनालीका स्थानीयवासीसँग सम्पर्क बढाएको स्थानीय धीरेन्द्र कोलीले बताएका छन्।

हिमाचलका विभिन्न उपत्यकामा तरकारी उत्पादनमा रुचि बढ्दै गएपछि अहिले जग्गा भाडा पनि महँगो हुँदै गएको छ। नेपालीमूलका ६३ वर्षीय आत्मरामले ४ वर्षदेखि अर्गानिक विधि प्रयोग गरेर प्राकृतिक खेती गरिरहेका छन्।

आफ्नो बारीमा भेँडा–बाख्राको मल हाल्छन्। तर विषादी प्रयोग गर्दैनन्, आत्मराम। कोक्सारका नेपाली कृषक छेञ्जा लामा र गोविन्द थापाले लाहौल उपत्यकामा ६ वर्षदेखि स्याउ, चेरी र विशाल फाँटमा तरकारी खेती गर्दैआएका छन्। उनीहरूको बारीमा लटरम्म चेरी पनि फलेको छ। दिउँसोतिर चेरी टिप्दै गर्दा भेटिन्छन्, कतिपय नेपाली।

‘हाम्रो लक्ष्य ठूलो छ। नेपालबाट आएका दाजु–भाइहरूलाई पनि खेतबारीमा काम दिन सक्नेगरी खेती गर्दैछौं। अहिले हाम्रो खेती राम्रो भइरहेको छ,’ साहुजनको स्याउखेती छोडेर तरकारी खेतीमा लागेका गोविन्द थापा भन्छन्।

कुल्लू–मनालीदेखि कोक्सार, सिसु र केलोङ, उदयपुरसम्म आवतजावत गर्न पहिलेभन्दा सहज छ। सुरुङमार्ग बनेपछि लाहौलबाट ठाउँ–ठाउँमा तरकारी पुर्‍याउँछन्, नेपाली कृषक। तरकारी उत्पादनबाट राम्रो आम्दानी गरिरहेको उनीहरू बताउँछन्।