२०जेठ, काठमाडौँ । हजारौं नेपाली युवा–युवतीहरू आजकल भारतीय खेतबारी र बगैँचामा भेटिन्छन्।

उच्च हिमाली भारतीय–राज्य हिमाचलको जीविका मुलतः कृषि कर्मले धानेको छ। उपत्यकाभर तरकारी नै तरकारी। चरनक्षेत्रमा भेँडा–बाख्रा र खच्चड। बगैँचामा स्याउ, चेरी, स्ट्रबेरी र नास्पती। जताततै साहुजनको खेतबारी र बगैँचमा रमाइरहेका छन्, नेपाली।

सिमसिमे पानी। डाँडाकाँडा ढाक्न हिँडिरहेको हिमाली–कुहिरो। पाखा–पखेरुमा चिरबिराउने चरा–चुरुङ्गीहरू बगैँचातिर सरिरहेका छन्।

कुल्लू–मनालीबाट हुत्तिएको चिसो सिरेटोसँगै नेपाली मजदुरहरू चियाको चुस्कीमा हराइरहेका छन्। नढाटी भन्नुपर्दा उनीहरू आनन्दलाग्दो जीवन बाँचिरहेका छन्। नेपालीहरू कर्मथलोमा खाइ–नखाइ खटिइरहन्छन्।

पाँच वर्षअघि सल्यानको दमाचौरबाट श्रीमानसँगै शिमला–ठानेधार आएकी मनकला केसी ९३२० पिठ्यूँमा दुई वर्षे छोरी च्यापेर एकाबिहानै बगैँचातिर लाग्छिन्। उनी दुई हप्तादेखि ओल्टाइपल्टाइ ‘सिजने फल’ चेरी टिप्ने काममा व्यस्त छिन्।

‘पहिला–पहिला हिन्दी बोल्न नजान्दा दिक्क लाग्थ्यो। अहिले ठानदार राम्रो लाग्छ। आफ्नै गाउँ–ठाउँजस्तो छ। जता हेर्‍यो, उतै नेपाली छन्,’ उनले भनिन्, ‘अहिले चेरीको सिजन हो। श्रीमान रूखमाथि चढेर चेरी टिप्नुहुन्छ, मैले प्याक गर्छु। यहाँ बस्ने त हामीहरू धेरै छौं।’

मजदुरहरू ठूला–ठूला रूखमाथि चढेर बाल्टी थाप्दै चेरी टिप्छन्। एक ठाउँमा थन्क्याउँछन्। अनि राम्रो–राम्रो दाना छानेर डिब्बामा प्याक गर्छन्। लगतै कलेक्सन सेन्टरमा लैजान्छन्। उनीहरूले त्यो चेरी शिमला हुँदै भारतको केन्द्रीय राजधानी नयाँदिल्लीसम्म पुर्‍याउँछन्।

हिमाचलमा तीन किसिमका चेरी पाइन्छन्। पहेँलो, कालो र रातो। अहिले नेपालीहरू रातो चेरी रूखमाथि झुन्डिएर टिपिरहेका छन्। कालो चेरी टिपेर पनि बेचिसके। पहेँलो चेरी अर्को हप्तादेखि टिप्न थाल्छन्।

खासगरी शिमला, कुल्लू, मन्डी, चम्बा, किन्नौर, लाहौल रसिलो चेरी उत्पादनका लागि चर्चित रहेको हिमाचलको पहाडी गाउँमा जन्मिएर यतै हुर्किरहेका नेपाली युवक देवराज केसी बताउँछन्।

शिमलास्थित ठानेधार–खादुन गाउँका साहुजन राजेश ठाकुरले गत वर्षको तुलनामा यसपटक चेरीको भाउमा भारी उछाल आउने अनुमान गरेका छन्।

गुणस्तरीय चेरी कृषक आफैँले दिल्ली लैजाँदा प्रतिपेटीको १ हजार रुपैयाँसम्ममा बिक्री गर्न सक्ने बताउँछन्, उनी। ठानेधार र कोटगढ क्षेत्रमा जताततै स्याउ–बगैंचा देखिएपनि यहाँका कृषकहरू डेढ दशकदेखि चेरी उत्पादनमा पनि जोडिएका छन्।

रोल्पा गंगादेव–३ का २६ वर्षीय दीपककुमार डाँगी दिउँसोतिर चेरी बगैँचामा दाना छानिरहेका भेटिन्छन्। उनी तीन महिनाअघि गोवाबाट बाल्यकालमा हुर्किएको बटारी गाउँ ९शिमला० आएका हुन्। आजभोलि भारतको चर्चित पर्यटकीय राज्य गोवास्थित समुन्द्री तटको एक भव्य होटलमा काम गर्छन्, उनी।

दुई वर्षपछि बटारी गाउँ फिरेका उनी बुवा अनिलकुमारसँग बस्छन्। तर आमा भने नेपाल फर्किसकेकी छन्। गोवाको रंगीन बसाइ बिट मारेर बटारी फर्केका दीपक एकाबिहानै चेरीबारीमा पुग्छन्। अनि दिउँसोसम्म बगैँचामा चेरी छान्छन्। बेलुकीतिर बच्पनका साथीसँग घुमफिर गर्छन्।

‘मलाई गोवाको होटलतिर राम्रो लाग्छ। काम गर्न पनि रमाइलो हुन्छ। म दिदी–भिनाजु र भाञ्जालाई भेट्न आएँ। शिमलामा अहिले बाबा र म बस्छौं। आमा एक वर्षअघि नेपाल जानुभयो। मलाई पनि गाउँ फर्किन मन छ। तर यहाँ बस्दासम्म चेरी छान्छु। बाबालाई सघाउँछु,’ उनले भने।

दीपकका दिदी–भिनाजु र भाञ्जा पनि शिमलामै बस्छन्। उनी फुर्सद निकालेर बेला–बेला त्यहाँ पनि पुग्छन्। शिमलाको स्याउ र चेली असाध्यै रसिलो मान्छन्, उनी। चेरी बगैँचातिर जाँदा नेपालीहरू भेट्छन् अनि रमाउँछन्।

तर ४७ वर्षीय अनिलकुमार साहुजनको स्याउ बगैँचातिरै भुल्छन्। चेरीको सिजन भएपनि खासै वास्ता छैन। उनी बगैँचामा पुगेर स्याउका स–साना दानाको राम्रोसित हेरचाह गर्छन्। चरा–चुरुङ्गी धमाउँछन्। उज्यालो नहुँदै बगैँचा छिरेका उनी दिउँसो एकपटक रोटी खाना डेरामा आउँछन्। फेरि बगैँचातिरै हराउँछन्।

हिमाचल प्रदेशका प्रायः ठाउँमा दुई महिनापछि धमाधम स्याउ टिप्न सुरु हुन्छ। हिजोआज स्याउ टिप्ने नेपालीहरू खोजिरहेका छन्, उनी।

‘मलाई स्याउबारीको चिन्ता छ। अहिले चेरीको वास्ता गर्दिनँ। साहुजनबाट बगैँचाको जिम्मा पाएको छु,’ अनिलकुमार भन्छन्, ‘स्याउ ढल्याउने दिन नजिक आइसक्यो। मजदुरहरू खोजिरहेको छु। त्यसैले म स्याउको धन्धामा लागिपरेको छु।’

मध्ये र उच्च पहाडी भेगमा झाङ्गिएर फल्छ, चेरी। हिमाचलका हजारौं कृषकहरूले चेरी खेतीमार्फत् करोडौं आम्दानी गरिरहेका छन्। स्याउ सिजनपूर्व हजारौं नेपाली चेरी टिपेर लाखौं पैसा कमाइरहेका छन्।

शिमलाका स्थानीय बिन्टा श्याम ९२७० आजभोलि कलेज छोडेर घरछेउको आफ्नो बगैँचामा रमाइरहेका छन्। उनी दिनभर नेपालीसँग काम गर्छन्। चेरी र स्याउका बोट–विरुवासँग खेल्छन्। कहिलेकाहीँ चेरीबाट अनेकौं परिकार बनाएर बारीका मजदुरलाई खुवाउँछन्।

हिमाचलको अर्थतन्त्र सुधारमा स्याउसँगै चेरीको पनि महत्वपूर्ण भूमिका छ। तर कैयौँ मालिक भारतीय भएपनि हजारौं नेपाली पसिना र परिश्रमले प्रदेशभर आर्थिक उमंग छ।

समथर फाँटदेखि माथिल्लो पहाडी भेगसम्म नेपाली नै नेपाली भेटिन्छन्। हुनत यहाँका मालिकहरू नेपाली मजदुरलाई धेरै विश्वास गर्छन्। इमान्दार मान्छन्। खुब माया गर्छन् र भारी जिम्मेवारी थपिदिएका छन्।

‘मेरा थुप्रै साथीहरू नेपाली छन्। उनीहरूको बानी राम्रो लाग्छ, मलाई। ती साथीहरूलाई म माया गर्छु। उनीहरू पनि मलाई माया दिन्छन्। मेरो बुबाले नेपालीहरू बहादुर र इमान्दार हुन्छन् भन्नुभएको छ,’ नेपालीसँगै चेरी बगैँचमा भेटिएका श्यामले भने।

हिमाचल प्रदेशमा यसवर्ष चेरीको उत्पादन २५ मेट्रिक टनले बढ्ने अनुमान गरिएको स्थानीयहरू चर्चा गर्छन्।

अघिल्लो वर्ष राज्यमा ३५० मेट्रिक टन चेरी उत्पादन भइ बिक्री भएको बगैँचा मालिक रत्न शर्मा ९५५० बताउँछन्। मौसम अनुकूल भएमा ३७५ मेट्रिक टनसम्म चेरी उत्पादन हुने उनको विश्वास छ।

रिलायन्स र बिग बास्केटजस्ता ठुल्ठूला कम्पनीले पनि बगैँचाबाटै चेरी किन्छन्। खासगरी हिमाचलको राजधानी शिमलास्थित बागी, नरकण्डा, मटियना, कोटगढ र कुमारसेन क्षेत्र चेरी खेतीका लागि प्रसिद्ध मानिन्छ। छोटो–मोटा व्यापारीहरू लस्कर लागेर चेरी खोज्दै हिँडिरहेका छन्।

भारतभर जताततै चेरीको मूल्य राम्रो छ। बगैँचाबाट १ सयदेखि २ सय ५० रूपैयाँप्रति किलो चेरी बेच्छन्, हिमाचली कृषक। राज्यमा चेरी उत्पादनको अनुपात वर्षेनी तीव्र गतिमा बढिरहेको बगैँचा मालिक शर्मा बताउँछन्।

‘बोट रोपेको पाँच वर्षपछि चेरी फल्छ। राम्रोसित हेरचाह गरे ५० वर्षसम्म फल दिइरहन्छ,’ उनले भने।

सामान्यतः एउटा चेरीको रूखबाट कम्तीमा १५ किलो दाना टिपिरहेको नेपालीहरू बताउँछन्।

हिमाचलमा चेरीको सिजन लगभग एक महिना मात्रै चल्छ। लामो समयसम्म टिकाइराख्न सकिँदैन। हिमालचल स्याउका लागि निकै प्रसिद्ध छ। तर चेरी पनि उत्पादक र आम्दानीका हिसाबले कम मानिँदैन।

हिमाचलका कृषकहरू एसियाकै धनी र थप मेहनती ठान्छन्, उनै बगैँचा मालिक शर्मा। उनीहरू वर्षौंदेखि फलफूल बेचेरै महाजन बनेका छन्। राज्यको महंगो र खाइलाग्दो शहरमा करोडौंको घर–जग्गा जोडेका छन्। हजारौं–हजार नेपालीहरूलाई खेतबारी र बगैँचामा रोजगारी दिएका छन्।