
२४जेठ,रोल्पा । रोल्पाका स्थानीय तहहरुले विद्यार्थीको वार्षिक परीक्षाको नतिजा आन्तरिक मूल्याङ्कनबाट सार्वजनिक गर्न विद्यालयलाई निर्देशन दिएका छन् । कोरोना भाइरस संक्रमण बढ्दै जाँदा गत वैशाखमा वार्षिक परीक्षा सञ्चालन गर्ने तयारीमा रहेका स्थानीय तहहरुले परीक्षा स्थगित गरेको थिए ।
कोरोना महामारीका कारण लामो समयको निषेधाज्ञा र विद्यालय खोल्ने वातावरण नभएपछि जिल्लाका स्थानीय तहले आन्तरिक मूल्याकङ्नबाट नतिजा सार्वजनिक गर्न विद्यालयलाई निर्देशन दिएका हुन् ।
सुनिलस्मृति गाउँपालिकाले अर्धवार्षिक र आन्तरिक मुल्यांकनका आधारमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीको नतिजा जेठ २८ गते भित्र सार्वजनिक गर्न निदेर्शन दिएको छ ।
तर कक्षा ५ को वडा स्तरीय र कक्षा ८ को पालिका स्तरीय परीक्षा हुने व्यवस्था भएकाले नतिजा तयार पारेर पालिका र वडामा पठाउन सर्कुलर गरेको शिक्षा अधिकृत यादव केसीले बताएका छन् ।
रुन्टीगढी गाउँपालिकाले पनि आन्तरिक मूल्यांकनबाट जेठ मसान्तसम्म सवै विद्यालयलाई नतिजा सार्वजनिक गर्न निर्देशन दिएकोे गाउँपालिका अध्यक्ष बालराम बुढाले बताएका छन् ।
गाउँ शिक्षा समितिको आइतबार बसेको बैठकले विद्यार्थीहरुको ‘त्रैमासिक, अर्धवार्षिक र अन्य विभिन्न मापदण्डलाई आधार मानेर नतिजा सार्वजनिक गर्ने निर्यण गरेको अध्यक्ष बुढाले बताए ।
माडी गाउँपालिकाले पनि अर्धवार्षिक परीक्षा, विद्यार्थीको हाजिर, अतिरिक्त क्रियाकलापको आधारमा नतिजा सार्वजनिक गर्न निर्देशन दिएको छ । गाउँपालिकाका अध्यक्ष नन्दबहादुर पुनका अनुसार कतिपय विद्यालयहरुले नतिजा सर्वाजनिक गरी सकेका छन् ।
सरकारले आगामी असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरे पनि कोरोना संक्रमण दर बढीरहेकाले शैक्षिक सत्र सुरु गर्न नसकिने अध्यक्ष पुनको भनाई छ ।
त्यसैगरी त्रिवेणी गाउँपालिकाले कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई निरन्तर मूल्यांकन, कक्षा ४/५ लाई अर्ध वार्षिक परीक्षा बापत ५० प्रतिशत र निरन्त मुल्यांकन बापत ५० प्रतिशतको आधारमा नतिजा सर्वाजनिक गर्ने निर्यण गरको छ ।
कक्षा ६, ७ र ९ लाई अर्धवार्षिक परीक्षा वापत ६० प्रतिशत र निरन्तर मूल्यांकन वापत ४० प्रतिशतको आधारमा नतिजा सर्वाजनिक गर्ने गाउँपालिकाले जनाएको छ ।
कक्षा ८ को हकमा भने अर्धवार्षिक र प्रयोगत्मक तर्फको अंक विषयगत नियमानुसार तयार पारी २७ गतेभित्र पालिकामा पठाउन निर्देशन दिएको छ । गाउँपालिकाले जेठ ३० गतेसम्म सबै विद्यालयलाई नतिजा प्रकाशन गर्न आग्रह गरेको छ ।
लुंग्री गाउँपालिकाले परीक्षा सञ्चालन सम्बन्धी कार्यविधि बनाएर आन्तरिक मूल्यांकन र निरन्तर मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गर्न लागिएको गाउँपालिका अध्यक्ष दुर्गाबहादुर खड्काले बताएका छन् ।
त्यसैगरी सुनछहरी गाउँपालिकाले अर्धवार्षिक परीक्षा र निरन्तर मूल्यांकनको आधारमा जेठ ३० गते सबै विद्यालयले वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्ने गाउँपालिका अध्यक्ष आशबहादुर पुनले बताएका छन् ।
तर कक्षा ८ को पालिका स्तरीय परीक्षा हुने व्यवस्था भएकाले जेठ ३० गते नै गाउँपालिकाले नतिजा सर्वाजनिक गर्ने बताए । असार १ गतेदेखि विद्यार्थी भर्ना अभियान सञ्चालन गरी असारको पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी भएको अध्यक्ष पुनले बताए ।
रोल्पा नगरपालिका र गंगदेव गाउँपालिकाले पनि जेठ मसान्तसम्म परीक्षाकाे नतिजा सार्वजनिक गर्न सबै विद्यालयलाई निर्देशन दिएको छ ।
परिर्वतन गाउँपालिका र थबाङ गाउँपालिकाले भने वार्षिक परीक्षाको नतिजा कहिले सार्वजनिक गर्ने कुनै तुंगो नलाए पनि केहिदिन भित्र तुंगो लगाउने गाउँपालिकाहरुले बताएका छन् ।