२४जेठ,रोल्पा । यतिबेला सहर, गाउँ, टोल र बस्ती उकुसमुकुसको अवस्थामा छन्। हुने खाने भन्दा हुँदा खानेको घरमाथि समस्याको पहाडले थिचिरहेको छ।
हरेक क्षेत्रमा थुप्रिएका समस्या जस्तै रोल्पाको शिक्षामा झनै सकस देखिएको छ। सहर तिरका बालबालिकाले अनलाईन शिक्षाका नाममा केहि पढ्न पाए पनि दुर्गमका विद्यार्थीहरु बिजनेश विहिन बनेर थन्किएका छन्। राज्यले दिएको अन्याय र विभेद पूर्ण शिक्षाका कारण बिचलित बनेका विद्यार्थीको पीडामा कसैले चासो दिएको देखिदैनन्।
फोन गर्नलाई आज पनि अग्लो डाँडा वा रुखमा चढ्नु पर्ने दुर्गमका विद्यार्थीलाई अनलाईन कक्षा एकादेशको कथा जस्तै छ। कतै ईन्टरनेटको पहुँच भईहाल्यो भने पनि कम्प्युटर, ल्यापटप वा मोबाईल नहुँदा पढ्ने विषय सपना बनिदिन्छ। एक नगरपालिकासहित दश स्थानीय तह रहेको रोल्पाका ७२ वडा मध्य अधिकांश वडामा आज पनि गतिलो फोन सेवा छैन। स्थानीय तहहरु विकास भनेको सडक हो भन्ने मान्यतामा छन् भने प्रदेश र केन्द्र सरकारलाई राजनीतिको काचो खिचडी पकाउन भ्याई नभ्याई छ। जसका कारण शिक्षा जस्तो सम्वेदनशिल विषयमा सामान्य छलफल समेत हुने गरेको पाईदैन।
यति बेला जिल्लाका विद्यालयहरुले आन्तरिक मुल्याङ्कनका आधारमा नतिजा निकाल्ने तयारी गरिरहेका छन्। ‘पढाईमा क्रम भङ्गता भयो। आउँदो शैक्षिक सत्रमा असार १ देखि भर्ना सुरु गरेर १५ गते देखि वैकल्पीक विधि अनलाई, रेडियो, टोल शिक्षा लगायतका विधिबाट कक्षा संचालन गर्ने तयारीमा छौँ।’ सदरमुकाम स्थीत बालकल्याण नमुना मा.वि.का प्रअ मधुसुदन पोख्रेलले भने ‘तर दुर्गममा यि विधि उपयुक्त हुँदैन। सहर र गाउँमा विभेद पूर्ण शिक्षा देखियो। यसले विद्यार्थीलाई मनोवैज्ञानिक असर पर्न सक्छ।’ यतिबेला स्थानीय सरकारले नतिजा प्रकाशनमा चासो दिए पनि पठन—पाठनमा खासै चासो दिएको पाईदैन।
रोल्पाको दुर्गम थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घर्ती गत वर्ष जस्तै यो वर्ष पनि पठन—पाठन विग्रिएको बताउछन्। ‘आन्तरीक मुल्याङ्कनद्वारा नतिजा निकालेर भर्ना अघि बढाउने छौं। यहाँ वैकल्पिक शिक्षाको सम्भावना छैन। महामारी अलि कम भयो भने भौतिक रुपमा पनि कक्षा संचालन गर्न सकिन्छ कि भन्ने आशा छ।’ अध्यक्ष घर्ती भन्छन् ‘शिक्षामा बिभेद भएको छ। सरकारी भन्दा पनि निजि क्षेत्रका विद्यार्थीले अलि धेरै अवसर पाए। सुगमकाले पनि अवसर पाए तर हाम्रा विद्यार्थीको बिजोग भयो। पढाईमा समस्या नै आयो। बिद्यालय बन्द हुदा हामि चिन्तीत छौं।’
जिल्लाको दुर्गम विद्यालय जनता माबि गामका प्रअ बागबिर घर्ती रोल्पामा वैकल्पिक शिक्षा प्रभावकारी नहुने बताउछन्। ‘हाम्रा स्कुलहरु बन्द छन्। वैकल्पिक बिधिले हाम्रोमा काम गर्दैन। फोन त लाग्दैन झन अनलाईन त एकादेशको कथा जस्तै छ।’ घर्ती भन्छन् ‘अबको शैक्षिक शत्रमा जबरजस्ती भए पनि भौतीक रुपमै कक्षा संचालन गर्ने कि भन्ने सोचमा छौं। सुगममा जस्तो हाम्रोमा वैकल्पिक बिधि सम्भव देखिदैन।’ शिक्षकहरुका अनुसार यतिबेला सहर र दुर्गममा शैक्षिक बिभेद छ। विद्यार्थीलाई नपढाएर जबरजस्त कक्षा अगाडी बढाउँदा त्यो औपचारीकतामा मात्र सिमित रहने छ। भविष्यमा उनिहरुलाई घात हुन्छ।
जिल्लाको सुगम मानिएका ठाउँमा समेत अनलाईन कक्षाको सम्भाबना देखिदैन। ‘हाम्रोमा अनलाईन कक्षा सम्भव छैन। धेरै ठाउँमा फोन नै लाग्दैन त्यसैले नेट त सम्भव नै हुदैन।’ सुनिलस्मृती गाउँपालिकाका शिक्षा संयोजक यादब केसी भन्छन् ‘नतिजा प्रकासन गर्न भनेका छौं। असार १ देखि भर्ना सुरु हुन्छ। वैकल्पिक शिक्षाका बारेमा अब छलफल गर्ने छौं।’ गत साल जस्तै यो पटक पनि विद्यार्थीहरु बिजनेशविहिन बनेका हुन्। निरन्तर लामो समय पठनपाठन अबरुद्व हुदा विद्यार्थीलाई सान्तवना दिने समेत कोहि छैन।
रोल्पामा रेडियोमार्फत दिइने वैकल्पिक शिक्षाको सम्भावना अरुको तुलनामा बढी प्रभावकारी देखिए पनि त्यता तर्फ सरोकारवालाले चासो दिएका छैनन्। परिक्षा नलिएरै कक्षा बढाउने गरिएका कारण पनि विद्यार्थीहरुमा पढाइप्रति चासो घटेको छ। सरकारले शैक्षिक सत्रसंगै पढाईको विधिबारे योजना बनाउन नसक्दा शिक्षक, विद्यार्थी र अभिभावकहरु अलमलमा परेका हुन्। यतिबेला जिल्लाका ४ सय २ विद्यालयमा ६७ हजार ९ सय ८८ विद्यार्थी अध्ययनरत छन्। नागरिक दैनिकबाट साभार


