महाप्रभुको तपोभूमीको महिमा चुलिदा जन्मभूमी ओझेलमा

२७जेठ,रोल्पा । स्वर्गद्धारी महाप्रभुले ध्यान गरेको स्थान स्वर्गद्वारीको महिमा चुलिदा जन्मस्थल रुन्टी भने बेखबर जस्तै छ । बाल तपश्वीको नामले प्रख्यात स्वर्गद्धारी महाप्रभुको ध्यान र कर्म स्थल स्वर्गद्धारी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा चर्तित हँुदा जन्मस्थल रुन्टी भने गुमनाम जस्तै छ ।

गौतम बुद्धको जन्मस्थल लुम्बिनीलाई जस्तै महाप्रभुको जन्मस्थल रुन्टीलाई पनि पवित्र धार्मिक स्थल बनाउन सकिने प्रशस्तै सम्भावना भएपनि सम्बन्धीत निकायको ध्यान नपुग्दा महत्वपूर्ण स्थल गुमनाम जस्तै हुन पुगेको हो । रुन्टीलाई मिनी लुम्बिनी बनाउन सकिने प्रशस्तै सम्भावना भएको सांस्कृतिक तथा धार्मिक क्षेत्रका अगुवाहरुको भनाई छ ।

रोल्पाको रुन्टीगढी गाउँपालिका अन्तरगत साविक सखी गाविस वडा नम्बर ९ मा रहेको रुन्टी रोल्पा सदरमुकाम लिबाङबाट दक्षिणमा पर्छ । होलेरी बजारबाट भने करिब ९ किलोमिटर पूर्वमा पर्छ । रुन्टीको धार्मिक महत्वसँगै यस क्षेत्रको प्राकृतिक मनोरम दृश्यले प्रकृती प्रेमीहरुलाई लोभ्याउने गर्दछ ।

प्यूठान जिल्लाको स्वर्गद्धारी नगरपालिकामा रहेको स्वर्गद्वारी महाप्रभुले कर्म गरेको स्थानदेखी रुन्टी सम्मको सडक दुरी करिब पन्ध्र किलोमिटर छ । स्वर्गद्धारी धार्मिक क्षेत्र, रुन्टी धार्मिक क्षेत्र, ऐतिहासिक किल्ला गढी लेक, त्यस आसपासको मनोरम वन जंगल, वन्य जन्तु, हिमदृष्यको अवलोकनले स्वर्गानुभुति दिने होलेरी बजारको हावापानी आदिका कारण यस क्षेत्र नेपालकै उत्कृष्ट पर्यटकीय क्षेत्र हुने सम्भावना रहेको छ ।
वशन्त ऋुतमा फुल्ने लालि गुराँसको ताँतीले रुन्टी जस्तो पूण्यभूमिको गौरवलाई सुन्दर र समृद्ध बनाउने गर्दछ । यति मात्र होइन हिन्दु धर्ममा विश्वास गर्नेहरुका लागि रुन्टी एक उचित तिर्थस्थल हो । यद्यपी रुन्टीको समग्र विकासको लागि सरकारी लगानी भने खासै हुन सकेको छैन ।

दाङ सदरमुकाम घोराहीबाट करिव ३२ किलोमिटर उत्तरमा पर्ने रुन्टीको प्रचार प्रसार र महिमा बढाउने भन्दै पछिल्लो पटक गरिएको स्थानीय तहको पुनःसंरचनामा गाउँपालिकाको नाम रुन्टीगढी राखिएको छ । रुन्टी महाप्रभुको जन्मस्थल र गढी बाईसे चौबिसे राजाहरुले शासन गर्दा गढको रुपमा प्रयोग गरेको लेकलाई जोडेर रुन्टीगढी गाउँपालिका राखिएको हो ।

नारायण खत्री अर्थात महाप्रभुको जन्म विसं १९१६ साल श्रावण शुक्ल एकादशीको रातमा भएको थियो । पिता अनिरुद्र गौतम खत्री र माता स्वेतकुमारी गौतम खत्रीको पहिलो सन्तानको रुपमा जन्म लिएका उनै नारायण खत्री पछि महाप्रभुको रुपमा प्रकट भए । दैवि शक्तिको अदभूत क्षमता भएका प्रभुको त्याग र तपस्याले सिंगो मानव समुदायको हित र कल्याणमा लाग्न प्रेरित गर्दछ । उनै तपस्वीले स्वर्गद्वारीमा महायज्ञ आयोजना गरेका थिए । बालक नारायणले आफ्नो कर्मले प्रभु, महाप्रभु, बाल तपश्पीका साथै शन्यास ग्रहण पछि स्वामी हंसानन्द गिरीको जीवन बिताएको पाइन्छ ।

यसै गाँउमा अखण्ड वैदिक यज्ञको थालनी समेत गरिएको पाइन्छ । प्रभु जन्मिएको सो स्थानमा अहिले सानो मन्दिर रहेको छ । मन्दिर भित्र प्रभुको पवित्र खराउ र मूर्ति राखिएको छ । अनुयानीहरु प्रभुको खराउ र मूर्तिमा पुजा गर्न पुग्दछन । यसका साथै प्रभु जन्मेको घरमा प्रयोग भएका झ्याल प्रयोग गरेर सानो धर्मशाला निर्माण गरिएको छ । धर्मशाला र मन्दिर रहेको ठाउँदेखी करिब ५ सय मिटर माथि प्रभुले निर्माण गरेको यज्ञशालाको अवशेष पनि भेटिन्छ । यस क्षेत्रमा प्रभुले ३५ वर्ष बिताएको बताईन्छ ।

प्रभुको जन्मस्थल रुन्टीको न्यूनतम पूर्वाधारको समेत विकास हुन नसक्दा छाँयामा पर्दै गएको स्थानीयहरुको गुनासो छ । भौतिक पूर्वाधार तथा सांस्कृतिक प्रवद्र्धनमा लगानी हुन नसक्दा रुन्टीले आफ्नो गरिमा र महत्वलाई बाहिर ल्याउन नसकेको जानकारहरुको बुझाई छ । महाप्रभुको जन्म स्थल मात्र नभएर अखण्ड यज्ञ लगाएको, सन्यास ग्रहण गरेको र लामो समय तपस्या समेत गरेको हुनाले पनि रुन्टीकोे महिमा उचाईमा रहेको स्थानीयहरुको भनाई छ ।

नेपालका महत्वपूर्ण धार्मिक गन्तव्य अन्तरगत स्वर्गद्वारीको महत्व र उचाई अतुलनीय भए पनि रुन्टी भने गुमनाम छ । रुन्टीलाई स्वर्गद्धारीको पुरक धार्मिक गन्तव्यको रुपमा विकास गर्न सके यसको महिमा अझै बढ्न जाने र पश्चिम नेपालको एक पर्यटकीय गन्तव्य बन्न सक्ने देखिन्छ ।
स्वर्गद्वारीको दर्शन गर्ने कुनै पनि भक्तजनले महाप्रभुको जन्मस्थल रुन्टीको दर्शन नगरे मनोकांक्षा पुरा नहुने धार्मिक विश्वास छ । प्यूठान भिंग्रीको बाटो हुँदै स्वर्गद्वारी दर्शन गर्ने अनि रुन्टीको दर्शन गरी दाङ झर्न सकिन्छ । यतिमात्र होइन दाङबाट गाडीको यात्राबाट रुन्टी पुग्न सकिन्छ । रुन्टी अवलोकन गरि स्वर्गद्धारी पुग्न पनि सकिन्छ ।

पछिल्ला दिनमा रुन्टीलाई सडक सञ्जालले जोडेको भए पनि यसको निरन्तरतामा राज्यले थप ध्यान दिनु पर्ने स्थानीयहरुको माग छ । गाउँपालिकाले रुन्टीको विकासका लागी ध्यान दिदै आएको रुन्टीगढी गाउँपालिका अध्यक्ष जनक पुनले जानकारी दिए । हरेक वर्ष बजेट विनियोजन गर्नुका साथै विभिन्न कार्यक्रमहरु समेत हुँदै आएका छन् पुनले भने । लुम्बिनी प्रदेश सरकारको लगानीमा सडक स्तरोन्नती गर्नुका साथै खानेपानी र वैकल्पीक उर्जा मार्फत विद्युतको व्यवस्थापन गर्दैछौँ अध्यक्ष पुनले भने । भौतिक निर्माणका सवै काम गरेसँगै रुन्टीलाई स्वर्गद्धारीको पुरक धार्मिक स्थलको रुपमा जोड्ने योजना बनाएका छौँ पुनले भने ।

प्रकाशित मिति : २०८० जेष्ठ २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस