रोल्पा सदरमुकाम लिवाङबाट दक्षिण तर्फ सडकमार्गबाट ५ किलोमिटर दुरीमा अवस्थीत छ कालिपोखरी । पैदलमार्गबाट भने सो ठाउँमा करिव ३ किलोमिटर यात्रा गरे पुगिन्छ । रोल्पा नगरपालिका वडा नंं ४ मा अवस्थीत कालिपोखरी क्षेत्रसँग वडा नंं १ र २ को भू-भाग जोडिएको छ ।

भारतीय सिमासँग जोडिएको दाङको कोईलाबाँस नुन बोक्न जाँदा प्रयोग भएको हटारु मार्गसँग जोडिएको कालिपोखरी धार्मिक, पर्यावरण, युद्ध र साहासिक पर्यटनको सम्भावना बोकेर पर्खिरहेको छ । कालिपोखरीमा पुग्न रोल्पा नगरपालिका वडा नंं ४ कालिमाटी र वडा नं. १ बाजविसौनाबाट करिव आधाघण्टाको पैदलयात्रा गर्नुपर्छ ।

पदमार्ग, साहसिक यात्रा, प्याारागलाईडिङ, विभिन्न उद्यान, खेलमैदान, वनभोज स्थल , दृश्यावलोकन स्थल, पाटन क्षेत्र, चुत्रा बगैँचा, मिनि ढुङगे बगैचा, साहासिक खेलस्थल र स्वच्छ हावापानी जस्ता विविधताले भरिपूर्ण कालिपोखरी निकै रोमाञ्चक छ ।

मसिनादेखी खामे धुरीसम्म करिव २ किलोमिटरको दुरीमा फैलिएको सो क्षेत्र समुन्द्र सतहदेखी करिव २ हजार मिटरदेखी २१ सय मिटरको उचाईमा रहेको छ । मनोरम पाटनको रुपमा रहेको कालिपोखरी चौर २०१० देखी २०३० मिटरको उचाईमा रहेको छ । सो चौर हवाई मैदान बन्न सक्ने सम्भावना समेत रहेकाले विभिन्न समयमा सो स्थानको सम्भाव्यता अध्ययनको काम पनि गरिएको थियो ।

धार्मिकपर्यटन

किमदन्ती अनुसार कालिदेवीको शक्तिले पानी उमारेर पोखरी समेत बनाएको हुँदा सो ठाउँलाई कालिपोखरी भनिएको हो । पोखरीमा कालिनागको बास स्थान पनि थियो । सो पोखरीको पानी गाईवस्तुले खानथालेपछि नाग पोखरीबाट “अलप” भएको किमदन्ती छ ।

कालिपोखरी चौरको पूर्वपट्टी पर्ने मसिना क्षेत्रको पनि आफ्नै धार्मिक महत्व छ । सडक मार्गले रोल्पा दाङसँग नजोडिदा मसिनामा निकै चहलपहल हुन्थ्यो । दाङ रोल्पा आवतजावत गर्दा सल्लीबोटको उकालो होस वा कालिमाटीको उकालो पार गरेर मसिना डाँडामा विश्राम लिदा स्वर्गमा पुगेको अनुभूत हुन्थ्यो ।

आवतजातव गर्दा मसिनामा ढुंगा र पाती चढाउने चलन छ । त्यसरी ढुंगा पाती चढाउँदा यात्रा सफल र सुरक्षित हुने विश्वास छ । सो ठाउँमा ढुँगा पाती चढाउने चलन अद्यावधिक कायमै छ । सो बाटोबाट आवत जावत गर्नेहरु अझै पनि मसिनामा विश्राम लिई स्वच्छ हावापानी र प्राकृतिक सौन्दर्यको आनन्द लिई यात्रा गर्ने गर्दछन ।

पर्यापर्यटन

पूर्वी भागमा रहेको मसिना खुटी जहाँ फरक खालको भू—वनोटन र घना जंगल छ । जुन क्षेत्रमा वन्यजन्तु चरिचरण र बासस्थानको क्षेत्र पनि रहेको छ । मसिनालेक देखी पश्चीम तर्फ करिव २० मिटर दुरीमा कालिपोखरी पाटन क्षेत्र रहेको छ ।

समथर मैदानको रुपमा रहेको उक्त क्षेत्र वरिपरी विभिन्न किसिमका लेकाली वनस्पती, जडिबुटी, फुलहरु तथा बुट्यानहरु रहेका छन्, भने पाटनमा चाइनिज दुवोजस्तो देखीने घाँसेमैदान पनी रहेकाले उक्त क्षेत्र विभिन्न उद्यानहरु, वनभोज स्थल, खेलमैदान, चुत्रा बगैँचा तथा ढुङगे बगैँचा बनाउन सकिने सम्भावना रहेको छ ।

कालिपोखरी र यसको नजिकै रहेको खामेधुरीबाट स्वर्गद्वारी, रुन्टी, गढीलेख र जलजला जस्ता धार्मिक क्षेत्रको सजिलै अवलोकन गर्न सकिन्छ । साथै उत्तरी क्षेत्रका ठूल–ठूला हिमाल र दक्षिण महाभारत पर्वत श्रंखला समेत अवलोकन गर्न सकिन्छ ।

खामेधुरी आफैमा प्राकृतिक भ्युटावर भएकाले यस क्षेत्रबाट दक्षिण रोल्पाका सबै गाउँवस्तीका साथै साविक राप्ती अञ्चलका सबै जिल्ला र धवलागिरी अञ्चलको म्याग्दी, बाग्लुङ लगायतका जिल्लाहरु हेर्न सकिन्छ ।

कालिपोखरी आफैमा मनोरम प्राकृतिक सौन्दर्यले भरिपूर्ण क्षेत्र हो । त्यहाँको भूगोल, पर्यावरणलाई हेर्दा स्वर्गको एक टुक्रा उछिट्टीए त्यहाँ आएको जस्तो देखिन्छ । प्रकृती प्रेमीहरुका लागि विछट्टै लोभ्याउने कालिपोखरी क्षेत्रमा विहानी समयमा योग तथा शारिरीक व्यायाम समेत गर्न सकिन्छ ।

सदरमुकाम लिबाङबाट निकै नजिकको दुरीमा रहेका कारण विहानीको हिडाईपछि कालिपोखरी पुगि ध्यान, योग वा शारिरीक व्यायामले मानिसहरु निरोगी तथा दीर्घजीवि हुन सक्छन ।

युद्धपर्यटन

२०५२ साल फाल्गुन १ गते देखी सुरुभएको माओवादी जनयुद्धले रोल्पाका सबै भू—भाग प्रभावित थिए । जिल्ला सदरमुकामलाई स्वयतः ईलाका भनिन्थ्यो कालिपोखरी जिल्ला सदरमुकाम रहेको वडामा परे पनि माओवादीको आवतजावत गर्ने रुट थियो ।

राती माओवादी आवतजावत गर्ने गर्थे । कालिपोखरी आसपासका बस्तीबाट पक्राउ गरी सो स्थानमा लिएर धेरै नागरिकहरुको तत्कालिन राज्यले निर्ममतापूर्वक हत्या गरेको थियो । साविक लिवाङ गाविस वडा नंं १ हरिगातिनाका कविराम खत्री, धनिराम वली, हर्कलाल थापा, ढाँटे थापा, वडा नं. ९ बाजबिसौनाका वसन्त विक र घोडागाउँ गाविस वडा नं. ८ का दिलबहादुर महराको सोही स्थानमा हत्या गरिएको थियो ।
आधा दर्जन नागरिकहरुको गैरन्यायिक हत्या गरिएको ठाउँको हिसावले पनि सो क्षेत्र युद्ध पर्यटनको रुपमा विकास गर्न सकिन्छ । उनीहरुको सम्मान तथा सम्झनामा सो क्षेत्रमा पार्क वा स्मारक बनाउन सकिन्छ ।

जिल्ला सदरमुकाम र देउपुजेमा रहेको नेपाली सेनाको व्यारेक तत्कालिन माओवादीहरुबाट बचाउनका लागि सेनाले सुरक्षा दिने एक महत्वपूर्ण प्वयन्ट पनि कालिपोखरी क्षेत्र थियो । युद्ध अभ्यासका लागि सुरक्षाकर्मीबाट तालिम केन्द्र, बङकर, पोस्ट आदि निर्माण गरिएका थिए ।

साहासिक पर्यटन
कालिपोरी वरिपरी टोपीफाल्ने भिर, मोलबोक्ने भिर, तीनधारे भिर, टोड्केधुरी, लैपाभिर जस्ता आङ जिरिङ गर्ने प्राकृतिक भिरहरु भएको हुँदा साहासिक पर्यटनका लागि ती भिरहरु प्रयोग गर्न सकिन्छ ।

आफुले लगाएको टोपी फाल्दा हावाले टोपी आफैतिर फर्काउने भएकाले टोपी फाल्ने भिर भनिएको हो । युवायुवतीहरु सो भिरमा टोपी फालेर आनन्द लिने गर्दछन । खामे धुरी र यस वरिपरिको पहाडलाई साहसिक पहाडी आरोहन, पदयात्रा तथा प्याराग्लाइडिङ जस्ता पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना छ । २ किलोमिटर दुरीमा विशाल बुकीको रुपमा रहेको मसिना कालिपोखरीलाई माउन्टेन बाईक मार्गको रुपमा पनि उपयोग गर्न सकिन्छ ।

यसरी मसिना कालिपोखरी क्षेत्र विविधताले भरिपूर्ण भएको क्षेत्र भएको हुनाले प्रचुरमात्रामा पर्यटकीय सम्भावनको क्षेत्र रहेको छ । यसलाई सम्पुर्ण सरोकारवाल पक्षले उच्च प्राथमिकतामा राखी प्रचार प्रसार गरी पर्यटकीय क्षेत्र घोषणा गरी स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सकिन्छ ।

याे पनि पढ्नुहाेस् 

कालिपोखरीलाई पर्यापर्यटनको चर्चा