द्वन्द्वमा क्षति प्रहरी चौकी : धेरै भत्काईए थोरै बनाईए

३०जेठ,रोल्पा । तत्कालीन माओवादी १० वर्षे सशस्त्र द्वन्द्वताका भत्काईएको प्रहरी प्रहरी चौकीको पुनः निर्माणले गती पाउन सकेको छैन। उतिबेला जिल्लामा २३ प्रहरी चौकी ध्वस्त बनाईएकोमा अहिलेसम्म चारवटा पुनः निर्माण गरिएको छ, भने २ वटा भवन निर्माणको अन्तिम चरणमा छन्।

थबाङ र जुँगारका यी २ भवन डिएफआईडिले बनाईदिएको हो। प्रहरीका लागि दार्बोटमा नयाँ बन्दै छ, भने खुंग्रीमा टेन्डर भईसकेको छ।

त्यसो त प्रहरीले अस्थायी प्रहरी चौकीलाई स्थायी बनाउने तयारी गरिरहेको छ । ‘स्तर उन्नतीका लागि प्रकृया अगाडि बढेको छ। दुर्गम पहाडी जिल्ला रोल्पामा लागु औषधको खेती र कारोबार बढिरहेकाले प्रहरीका गतिलो उपस्थीती देखाउनु पर्ने देखिन्छ।’

रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदी भन्छन् ‘प्रहरीको आफ्नो संरचना हुँदा मनोबल बढ्ने गर्दछ। सेवा प्रवाहमा सहजता हुन्छ। पछिल्लो समय प्रहरी संगठनले दुर्गम जिल्लालाई हेर्न थालेपछि सहज भएको हो।’

त्यसो त केहि समय अगाडि प्रदेश सरकारले रोल्पा प्रहरीलाई दुईवटा नयाँ गाडि र २ मोटरसाईकल समेत दिए पछि आफ्नो गतिविधि गर्न सजिलो भएको डिएसपि सुवेदीले बताए।

जिल्लाका अधिकाशं प्रहरी चौकीहरु आज पनि भाडाका घरमा छन् । प्रहरीको आफ्नो भवन नहुँदा सेवा प्रवाहमा समस्या आउने दुर्गम चौकीका प्रहरीहरु बताउछन्। भाडाका घरमा बसेका प्रहरी युनिटहरुलाई सबै भन्दा ठूलो समस्या थुनुवा राख्नका लागि पर्ने गर्दछ।

२०५६ सालमा घर्तीगाउँ ईलाका प्रहरी कार्यालयमा तत्कालीन माओवादीले आक्रमण गरेपछि ग्रामीण क्षेत्रका प्रहरी चौकी सदरमुकाम लिबाङमा सारिएका थिए।

घर्तीगाउँमा गरिएको प्रहरी आक्रमण सबै भन्दा ठूलो आक्रमण थियो। यो घटनामा प्रहरी निरीक्षक श्रीराम आचार्य सहित २१ प्रहरी मारिएका थिए।

हिजो प्रहरी चौकीमा बम पड्काउँदै हिड्नेहरू आज सत्ताको मूल थलोमा पुगे पनि प्रहरी चौकी लगायत आफैले ध्वस्त बनाएका अन्य संरचना पुनःनिर्माणमा चासो दिएको पाईदैन।

२०५२ साल फागुन १ गते देखि सुरु भएको सशस्त्र द्वन्द्वका बेला माओवादीले रोल्पाका २३ वटा प्रहरी चौकी भवन ध्वस्त पारेका थिए। द्वन्द्वकालिन समयमा ३९ स्थानमा प्रहरी बस्दै आएका थिए। शान्ति प्रकृया पछि सदरमुकाममा गाभिएका सबै प्रहरी चौकी साविककै स्थानमा पुनःस्थापना भएका छन् । तर ध्वस भवनको पुनःनिर्माण नभएकाले अधिकांश प्रहरी युनिट भाडाका घरमा छन्।

तत्कालीन विद्रोही माओवादीले प्रहरी चौकी भवन ध्वस्त बनाएका कारण आज पनि प्रहरीका लागि सरकारले रोल्पामा मात्रै वार्षिक १७ लाख बढि रुपैयाँ घरभाडा तिर्ने गरेको छ।

शान्ति प्रकृया पछिको १४ वर्ष यता रोल्पाका ईलाका प्रहरी कार्यालय होलेरी, सुलिचौर, पोबाङ र घर्तीगाउँका प्रहरी भवन पुनःनिर्माण गरिएका छन्, भने नेर्पा र थबाङ चौकी निर्माण अन्तिम चरणमा पुगेको छ। गाउँका बाँकी सबै चौकी भाडाका घरमा छन्। नागरिक दैनिकबाट साभार

प्रकाशित मिति : २०७८ जेष्ठ ३० गते आइतवार
प्रतिक्रिया दिनुहोस