३२ जेठ, काठमाडौं।संसदीय सुनुवाइ समितिमा आज प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको सुनुवाइ सुरु हुँदैछ ।
बुधबार उजुरीकर्ताको छलफलपछि आज बिहान ८ बजे सुनुवाइ समितिले कार्कीलाई सुनुवाइका लागि बोलाएको छ ।
समितिले बुधबार ७ जना उजुरीकर्तासँग एकल रुपमा र बाँकीसँग सामूहिक रुपमा छलफल गरेको थियो । कार्कीविरुद्ध ३८ जना उजुरीकर्ताले २९ उजुरी दर्ता गराएका छन् ।
संसदीय सुनुवाइ समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट पाँच/पाँच जना छन् । कांग्रेसका तर्फबाट रमेश लेखक, ईश्वरीदेवी न्यौपाने, जीवन परियार, ज्ञानेन्द्रबहादुर कार्की र रमेशजंग रायमाझी सदस्य छन् ।
नेकपा एमालेबाट पदम गिरी, महेशकुमार बर्तौला, लिलानाथ श्रेष्ठ, ईश्वरी जीएम र देवेन्द्र दाहाल सदस्य रहेका छन् ।
माओवादी केन्द्रबाट जनार्दन शर्मा र जगप्रसाद शर्मा सदस्य छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट डोलप्रसाद अर्याल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पशुपतिशमशेर जबरा र जनता समाजवादी पार्टीको तर्फबाट प्रकाश अधिकारी सदस्य छन् ।


