रोल्पाका पुराना कम्युनिष्ट नेता रोकाको कोरोनाका कारण निधन,विप्लव र महराद्धारा श्रद्धाञ्जली

२असार, रोल्पा । रोल्पाका पुराना कम्युनिष्ट नेताको निधन भएको छ । रोल्पा थवाङका पुराना कम्युनिष्ट नेता पूर्णबहादुर रोकाको कोरोनाका कारण ७३ वर्षको उमेरमा मंगलवार निधन भएको हो ।

कोरोनाबाट संक्रमित रोका थबाङमा रहेको आइसोलेशनमा उपचाररत रहेको बेला निधन भएको स्थानीय गोविन विकले जानकारी दिए । लामो समयदेखी दम र मुटुको विरामी रहेका उनलाई अथक प्रयास गर्दा पनि बचाउन सकिएन विकले भने ।

२०३२ साल देखी कम्युनिष्ट पार्टीमा लागेका रोका विप्लव नेतृत्वको नेपाल कम्युनिष्टका पूर्व केन्द्रीय सदस्य तथा पूर्व केन्द्रीय सल्लाहकार समेत रहिसकेका छन् । गोरे दाई उपनामले परिचित रोका एक ईमान्दार र निष्ठावान नेता मानिन्छन । थबाङमा रोकालाई वरमन बुढामगर, सन्तोष बुढामगरको समकक्षी नेताको रुपमा मानिन्छ ।

रोकाको बहिनी ललि रोकालाई २०५३ सालमा तत्कालिन राज्य पक्षले बलात्कार पछि हत्या गरेको थियो ।

नेता रोका प्रति नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले श्रद्धाञ्जली व्यक्त गरेका छन् । पार्टीका पूर्व केन्द्रीय सदस्य तथा पूर्व केन्द्र सल्लाहकार क्रान्तिकारी आन्दोलनका एक अभिभावक गुमाएको उल्लेख गरिएको छ ।

श्रद्धाञ्जलीमा नेता रोका क्रान्तिको किल्ला थबाङको मात्र नभई नेपाली कम्युनिष्ट आन्दोलनकै एक खम्बा भएको उल्लेख गरिएको छ ।

नेता रोकाको निधन प्रति पूर्व सभामुख कृष्णबहादुर महराले पनि श्रद्धाञ्जली व्यक्त गरेका छन । नेपाली राजनीति परिवर्तनको किल्ला मानिने रोल्पा थबाङका किसान आन्दोलनका अगुवा नेता रोकाको निधनले आफुलाई स्तव्ध बनाएको महराद्धारा जारी श्रद्धाञ्जलीमा उल्लेख गरिएको छ ।

श्रद्धाञ्जली व्यक्त गर्दै महराले अघि भनेका छन “मेरो राजनैतिक सहकर्मी तथा जनताका आशा र भरोसाका केन्द्र मानिने रोकाको निधनले थबाङ तथा आम रोल्पाली जनतालाई समेत अपुरणीय क्षती पुगेको छ” ।

समाज परिवर्तनको महायात्रामा सँगै होमिदा उहाँमा भएको अत्यन्तै क्रान्तिकारी चेतना तथा जनता प्रति उत्तरदायी भावनाको समेत महराले स्मरण गरेका छन् ।

प्रकाशित मिति : २०७८ असार २ गते बुधवार
प्रतिक्रिया दिनुहोस