२ असार,पोखरा। गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिव ३६ अर्बको बजेट सार्वजनिक गरेको छ। आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको हो।

यसमध्ये चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख अर्थात ३५।९५ प्रतिशत र पूँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख अर्थात ६१।६६ प्रतिशत विनियोजन भएको छ। वित्तिय व्यवस्था तर्फ ५० करोड अर्थात १।३९ प्रतिशत विनियोजन भएको अर्थमन्त्री रामजी बरालले जानकारी दिए।

सरकारले आगामी वर्ष स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणमा २ अर्ब ११ करोड १० लाख दिनेछ भने १ करोड ८८ लाख संचित कोषमा व्ययभार हुने अनुमान छ।

बजेटमध्ये सबैभन्दा धेरै नेपाल सरकारको अनुदानमा निर्भर छ। नेपाल सरकारबाट वित्तिय समानीकरण ७ अर्ब ९२ करोड ७९ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब २३ करोड ९९ लाख, सशर्तत अनुदानमा ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक ८३ करोड ७० लाख र विशेष अनुदानमा ८६ करोड पाउने अनुमान सरकारले गरेको छ।

यस्तै, ५ अर्ब ९ करोड आन्तरिक आम्दानी हुने तथा रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख पाउने अनुमान छ। यो वर्ष खर्च गरेर २ अर्ब ७१ करोड रुपैयाँ बाँकी रहने अनुमा छ भने नपुग हुने २ अर्ब रकममध्ये १ अर्ब आन्तरिक ऋण र १ अर्ब नेपाल सरकारबाट ऋण लिने बरालले बताए।