युरोकप फुटबलमा इटाली नकआउट चरणमा प्रवेश

३ असार, काठमाडौँ । इटाली जारी युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गर्ने पहिलो टिम बनेको छ ।

रोममा बुधबार राति भएको समूह चरणको दोस्रो खेलमा स्वीट्जरल्याण्डलाई ३–० गोलले पराजित गर्दै इटाली समूह ए बाट नकआउट चरणमा प्रवेश गरेको हो ।

ओलम्पिक स्टेडियममा इटालीलाई जित दिलाउन म्यानुएल लोकाटेलीले दुई गोल गरे । सिरो इमोबाइलको नाममा एक गोल रह्यो ।

लगातार दोस्रो जित निकालेको इटालीले २ खेलमा ६ अंक जोडेको छ । इटाली समूहको शीर्ष स्थानमा रहेको छ । पहिलो खेलमा इटालीले टर्कीलाई ३–० ले हराएको थियो ।

समूहको तेस्रो स्थानमा रहेको स्वीट्जरल्याण्डको यो पहिलो हार हो । स्वीट्जरल्याण्डले २ खेलमा १ अंक जोडेको छ । उसले पहिलो खेलमा वेल्ससँग १–१ गोलको बराबरी खेलेको थियो ।

प्रकाशित मिति : २०७८ असार ३ गते बिहिवार
प्रतिक्रिया दिनुहोस