एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

१४ असार,रोल्पा । रोल्पाको सुनिलस्मृति गाउँपालिका वडा नं.४ सुलिचौरले आफ्नो वडाभित्रका ६० वर्षमाथिका एकल पुरुषहरूलाई पनि सामाजिक सुरक्षा भत्ताको व्यवस्था गर्ने भएको छ।

आर्थिक वर्ष २०७८/७९ मा वडाभित्र संचालन हुने नीति तथा कार्यक्रम सुनिल स्मृति गाउँपालिकाको दशौँ गाउँ सभाबाट पारित गर्दै एकल पुरुष सामाजिक सुरक्षा भत्ता लगायतका कार्यक्रम पारित गरिएको हो।

एकल महिला झैँ वडामा दुःख पाएका एकल पुरुष पनि थुप्रै भएकाले सो कार्यक्रम ल्याइएको वडाअध्यक्ष गञ्ज क्षेत्रीले जानकारी दिए। एकल पुरुष भत्ताका लागि मासिक १ हजार उपलब्ध गराउने गरी बजेट विनियोजन गरिएको अध्यक्ष क्षेत्रीको भनाई छ।

स्थानीय तहहरूले दलितलगायत लक्षित समूहलाई केहि गर्न सकेनन् भन्ने गुनासो आइरहेको अवस्थामा वडाका सम्पूर्ण दलितहरू, अपाङ्ग र असाहय २ सय ७ घरधुरीलाई निःशुल्क स्वास्थ्य बिमा गरिदिएर ुजनतालाई वडाको निःशुल्क स्वास्थ्य बिमाु कार्यक्रम पनि ल्याएको छ।

गरिवीको रेखामुनी रहेका जनताहरुको स्वास्थ्य उपचारमा कार्यक्रमले ठुलो टेवा पुग्ने वडा कार्यालयको बिश्वास रहेको छ। स्वास्थ्य बिमाको लागि ७ लाख २५ हजार बिनियोजन गरिएको वडा कार्यालयले जनाएको छ।

गाउँपालिकाले वडालाई प्रदान गरेको ७० लाखको सीमामा रही विभिन्न योजना तथा कार्यक्रम ल्याइएको हो। योजना छनोटका विभिन्न प्रक्रिया अपनाई बस्ती स्तरबाट प्राप्त योजना तथा कार्यक्रममा बजेट बिनियोजन गरिएको अध्यक्ष क्षेत्रीले बताए।

यसअघिका आर्थिक वर्षका नीति तथा कार्यक्रमहरुमा वडाले घर घरमा विद्यार्थीलाई पढ्ने वातावरण सृजना गर्न र शिक्षामा सबैको पहुँच बनाउन ुशिक्षामा वडाको लगानीु र ुशिक्षण सिकाइ कुनाु जस्ता कार्यक्रमको सुरुवात गरेको थियो भने गत आर्थिक वर्षबाट वडामा रही २० यूनिटभन्दा कम बिद्युत खपत गर्ने सम्पूर्ण व्यक्तिहरुको बिद्युत महशुल वडाले निशुल्क तिरिदिने गरी ुजनतालाई वडाको निःशुल्क उज्यालोु जस्तो बहुचर्चित कार्यक्रम ल्याएको थियो।

कार्यक्रमबाट वडाका ७ सय ८० मध्ये ५ सय २७ घरधुरी प्रत्यक्ष लाभान्वित भएको र हाल उक्त कार्यक्रम गाउँपालिकाको वडा नम्बर ५ र ६ र प्युठानको माण्डवी गाउँपालिकाले अनुशरण गरी अहिले बजेट बिनियोजन गरेको वडाअध्यक्षको भनाई छ।

वडाले सुर्योदय मावि सुलिचौरमा बिज्ञान प्रयोगशालाको स्थापना लगायत थुप्रै अन्य कार्यक्रमहरु पनि ल्याएको अध्यक्ष गञ्ज क्षेत्रीले जानकारी दिए।

प्रकाशित मिति : २०७८ असार १४ गते सोमवार
प्रतिक्रिया दिनुहोस