
१७असार, रोल्पा । रोल्पामा ३० औँ राष्ट्रिय बालसाहित्य सम्मेलन हुने भएको छ । आगामी मङ्सिर १८ र १९ गते रोल्पाको लिबाङमा ३०औँ राष्ट्रिय (सार्क) बालसाहित्य सम्मेलन-२०८२ हुने भएको हो ।
सम्मेलनमा विभिन्न ७ देशका १५ जना र देशभरका ५० जना ख्यातिप्राप्त साहित्यकार तथा कलाकारको उपस्थित रहनेछ । नेपाल बालसाहित्य समाजको आयोजनामा हुने सो कार्यक्रमको सोमबार लिबाङमा पत्रकार सम्मेल गरी ब्यानर सार्वजनिक तथा कार्यक्रमको जानकारी गराएको हो ।
सम्मेलनको अवधिमा बालसाहित्य, बालसाहित्य प्रकाशनमा नवीनतम प्रयोग र बजार, चित्रपुस्तक र चित्रकारिता, बालसाहित्यको अवस्थालगायतका विषयमा शिक्षक तथा अभिभावकसँग छलफल गरिने जनाइएको छ ।
यस्तै बालबालिका तथा किशोरकिशोरीहरु सहभागी गराएर कथा लेखन, चित्रकला लेखन, कविता लेखन, कक्षागत नाटक मञ्चन सिकाइ, कथा, कविता वाचन सिकाइ एवं अन्तरक्रिया गरिने आयोजकले जनाएको छ ।
सम्मेलनमा बालसाहित्यसँग सम्बद्ध लेखक, चित्रकार, सम्पादक, शिक्षक, अनुवादक, गायक, संगीतकार, पत्रकार, पुस्तकालय व्यवस्थापक, प्रकाशक लगायतको सहभागिता रहने स्थानी मूल आयोजक समितिका संयोजक डिबी टुहुरोले जानकारी दिएका छन् ।