बामरुकमा पूर्वप्रधानाध्यापक ल्याउन हुदैछ यस्तो ‘सेटिङ’

१९असार,रोल्पा । रोल्पा नगरपालिका–१ बामरुकस्थित तारा माध्यामिक विद्यालयमा केहि समय अघिदेखि प्रधानाध्यापकको फेरबदल चलिरहेको छ ।

सदरमुकाम नजिकै रहेको बामरुकमा प्रधानाध्यापकको खडेरी चलिरहँदा यसको नराम्रो प्रभाव भने नगरपालिकाकै ५ नम्बर वडाको लाल्टिबाङमा पर्ने भएको छ ।

बामरुकमा प्रधानाध्यापक राख्नका लागि लाल्टिबाङमा रहेको बालहित प्राथमिक विद्यालयको दरबन्दी काटेर बामरुकमा ल्याइने भएपछि यसको असर त्यहाँ पर्ने भएको हो ।

नगर शिक्षा समितिले केहि दिन अघि मात्र उक्त विद्यालयको रिक्त दरबन्दीलाई जगेडामा राख्ने निर्णय गरेको छ । केहि वर्षदेखि विद्यार्थी संख्या न्यून रहेको भन्दै नगरपालिकाले यस अघि पनि उक्त विद्यालयको दरबन्दी काटौति गर्ने प्रयास गरेको थियो ।

तत्कालिन समयमा त्यहाँ कार्यरत शिक्षक र अभिभावकहरुको विरोधका कारण नगरपालिका पछि हटेको थियो । नगर प्रमुख पूर्ण केसीका अनुसार लाल्टिबाङ र जंकोटको गैराकुटीको दरबन्दीलाई सदरमुकाम लिएर त्यहाँ स्वयम सेवक शिक्षक राखिने भएको छ ।

लाल्टिबाङको दरबन्दीलाई बामरुक र गैराकुटीमा कार्यरत अपाङ्क शिक्षकलाई दरबन्दी सहित बालकल्याण मा.वि. लिबाङमा ल्याउने तयारी भइरहेको केसीले बताए ।

पूर्व प्रधानाध्यापक ल्याउन गरियो यस्तो सेटिङ

हेर्दा सामान्य लागेपनि यसको भित्री सेटिङ भने अर्कै छ । बामरुकस्थित विद्यालयका पूर्व प्रधानाध्यापक ओबीलाल महरालाई फेरी पनि बामरुकमा ल्याउन यस्तो सेटिङ गरिएको स्रोतको भनाई छ ।

राहत दरबन्दीमा कार्यरत रहेका महराको स्थायी भएसँगै दिपेन्द्र प्राथमिक विद्यालय रोल्पा नगरपालिका–१ सानोलिपुबाङमा पदस्थापना भएको थियो ।

महरालाई पुनः प्रधानाध्यापकमा ल्याउन यो चलखेल भइरहेको हो । यसका लागि नगर प्रमुख पूर्ण केसी र उनकै ससुरा कृष्णबहादुर महराले समेत नगर शिक्षा समितिका केहि सदस्यलाई फोन गरेर विरोध नगर्न दबाव दिएको स्रोतको दाबी छ ।

विरोध भए फेरी पछि हट्ने सम्भावना

यसैबीच यो निर्णयको विरोध भएमा नगरपालिका फेरी पनि पछि हट्ने सम्भावना रहेको छ । अहिले नगर शिक्षा समितिमा यो निर्णय गर्दा सबैलाई थाहा नभएको र थाहा भएकाहरुले पनि विरोध गर्न नसकेकाले सहजै निर्णय कार्यान्वय हुनेमा नगर प्रमुख र ति शिक्षकहरु विश्वस्त छन् । तर यसको बारेमा चौतर्फी विरोध भएमा निर्णय कार्यान्वयन नहुने सम्भावना रहेको कतिपयको बुझाई छ ।

उता लाल्टिबाङका स्थानीयले भने कुनै पनि हालतमा यो निर्णय कार्यान्वयन हुन नदिने जनाएका छन् । ‘यसअघि पनि यहाँको दरबन्दी कटौति गर्ने प्रयास भएकै हो’ बालहित प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बुढाथोकीले भने’– ‘फेरी पनि कटौतिको निर्णय भयो भने हामीले विरोध जनाउछौं ।’

उक्त विद्यालयले रिक्त रहेको दरबन्दीमा करार शिक्षक राख्नका लागि यहि असार १ मात्र विज्ञापन गरेको थियो । १५ गतेसम्म १ जनाको मात्रै आवदेन परेपछि १६ गते फेरी थप १ हप्ते सूचना प्रकाशन गरेको प्रधानाध्यापक रश्मी भण्डारीले बताए । अहिले उक्त पदका लागि ५ जनाको आवेदन परेको छ ।

प्रकाशित मिति : २०७८ असार २० गते आइतवार
प्रतिक्रिया दिनुहोस