
रोल्पा । रुन्टिगढी गाउँपालिका–१ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, रिठाबोटमा माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ मा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको छ।
विद्यालयका प्रधानाध्यापक झक्कु प्रसाद ओलीको व्यक्तिगत पहलमा A ग्रेड ल्याउने दुई जना विद्यार्थीलाई जनही पाँच–पाँच हजार र अन्य उत्तीर्ण विद्यार्थीलाई जनही एक हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको हो। यस वर्ष विद्यालयबाट १४ जना विद्यार्थी नियमित रूपमा उत्तीर्ण भई गाउँपालिकामै पहिलो स्थान हासिल गरेका थिए।
शुक्रबार आयोजित सम्मान कार्यक्रम वडा नं. १ का अध्यक्ष थमबहादुर घर्तीको प्रमुख आतिथ्य र शिक्षक अभिभावक संघका अध्यक्ष देउराम पुनको सभाध्यक्षतामा सम्पन्न भएको हो। सफलताको खुसियालीमा विद्यार्थी, शिक्षक तथा स्थानीयबासीको सहभागितामा विजय र्याली पनि निकालिएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष बागदल डाँगीलाई विद्यालयको समृद्धिको आधार तयार गरेको भन्दै विशेष सम्मान गरिएको थियो। त्यस्तै, विज्ञान विषयमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराएकोमा विज्ञान शिक्षक झक्कु प्रसाद ओली, अङ्ग्रेजी शिक्षक रेशम पुन र गणित शिक्षक अरुण पौडेललाई पनि सम्मान गरिएको छ।
कार्यक्रममा बोल्दै प्रधानाध्यापक ओलीले विगतको कमजोर शैक्षिक अवस्थालाई सुधार गर्दै विद्यालयलाई अब उत्कृष्टतर्फ डो¥याउने प्रतिबद्धता जनाए। “मैले विज्ञान विषयमा शतप्रतिशत नतिजा दिन सफल भएँ, अन्य शिक्षक साथीहरूले पनि यस्तो प्रतिबद्धता देखाउनुपर्छ,” उनले भने।
प्रमुख अतिथि वडा अध्यक्ष घर्तीले विवादास्पद विद्यालय व्यवस्थापन समितिको विषयमा वडा कार्यालयले गम्भीर चासो राखेको बताउँदै आवश्यक परेमा समितिको जिम्मा आफैं लिने चेतावनी पनि दिए। कार्यक्रम सञ्चारकर्मी बुदिराम विकले सञ्चालन गरेका थिए भने प्रारम्भमा शिक्षिका हरिकला बाठाले स्वागत मन्तव्य दिएकी थिइन्। कार्यक्रमको समापन गर्दै संघ अध्यक्ष देउराम पुनले शैक्षिक सुधारका लागि सबै पक्ष मिलेर लाग्नुपर्नेमा जोड दिए।