
२५असार,सिन्धुपाल्चोक। सिन्धुपाल्चोकमा अत्यधिक वर्षापछि आएको बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ, भने २० जना बेपत्ता भएका छन् ।
अविरल वर्षापछि सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीमा बेपत्ता भएकाहरुको पहिचान भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार बाह्रबिसे नगरपालिकाका १६ जना र भोटेकोशी गाउँपालिकाका चार जना गरि २० जना बेपत्ता भएका छन् ।
नगरपालिका अनुसार बेपत्ता हुनेमा भीमबहादुर वाइबा, चिनीमाया वाइबा, लीलामाया वाइबा, पासाङडोल्मा वाइबा, निमाडोल्मा वाइबा, लक्ष्मण वाइबा, सुनमाया वाइबा, जनकबहादुर वाइबा, सविना तामाङ, हिमेश शर्मा, आकाश तामाङ, आकाश केसी, तोकबहादुर तामाङ, युक्तकुमार तामाङ, सुवेस तामाङ र सलिना तामाङ रहेका छन् ।
यसैगरी सो गाउँपालिकाका निमादोर्जे तामाङ, मञ्जु तामाङ, पासाङ नोर्बु तामाङ र सहिल तामाङ छन् । निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी नियोन बस्नेतको शव फेला परिसकेको छ ।
घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ । भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार जम्बुमा ११ घर र खागदलमा सानाठूला गरी २० घर टहरा बगाउनाका साथै पक्की पुलसमेत बगेका छन् । जम्बुका तीन गम्भीर घाइतेलाई उपचारका लागि हेलिकप्टरबाट राजधानी ल्याइएको छ ।
त्यसै गरी भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा स्थानीय खहरे खोलामा आएको बाढीले राजमार्ग छेउका तीन टहरासमेत बगाएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।