खतरातर्फ नदीको सतह, ३ दिन यी नदीमा उच्च बहाव

२७ असार, काठमाडौं । देशभर मनसुनी वर्षा हुने क्रमसँगै केही क्षेत्रमा निरन्तर वर्षा हुँदा ठूला तथा साना नदीमा बाढी आउन थालेको छ ।

कतिपय ठाउँमा बाढी र तराईका भूभागमा बाढीसँगै डुबानले जलमग्न बनाउन थालेको छ । पहाडी तथा मध्यपहाडी क्षेत्रमा बाढी र पहिरोले जनधनको क्षति पुर्‍याएको छ ।

विगत २४ घण्टामा कास्कीस्थित वर्षा मापन केन्द्रमा अत्यधिक २५०।९ मिलिमिटर वर्षा भएको छ । अन्य दुई केन्द्रमा २०० मिलिमिटर वर्षा भएको छ ।

त्यस्तै दरबाङ स्टेसनमा १५०।६, खुदी बजारमा १४९।४, स्याङ्जामा १४८।६, बर्दघाटमा १५०।८ र बेसीसहरमा १६९।४ मिलिमिटर वर्षा भएको छ ।

वर्षा बढेसँगै नदीको सतह उर्लंदो छ । सप्तकोसीमा बाढी बढेपछि भारततर्फका ३८ ढोका खोलिएका छन् । कोसीको बाढीले सतर्कता तह पार गर्दै खतराको तहतर्फ बढ्दै गरेको बाढी पूर्वानुमान महाशाखाका

जलविज्ञ सुनील पोखरेलले बताए । कोसीको जल सतह शुक्रबार दिउँसो ६।२३ मिटरमाथि पुगेको छ । ७ मिटर यसको खतराको तह हो ।

चितवनको नारायणी नदीमा पनि बहाव बढ्दै गएको छ । नारायणीको बाढीले सतर्कताको तह पार गरेर खतरातर्फ अगाडि बढेको छ ।

नारायणगढस्थित स्टेसनका अनुसार ११ मिटरको सतर्कता तह पार गरेर ११।१३ मिटरमाथि नारायणीको भेल बगिरहेको छ । नारायणीकै देवघाटस्थित स्टेसनमा सतर्कता तह पार गरेर ७।६८ मिटरमाथि बहाव भइरहेको छ ।

अबका ३ दिन कन्काई, कमला, कोसी, कमला, वाग्मती, लालबकैया, नारायणी लगायतका नदीमा उच्च बहाव हुने भएकाले तटीय क्षेत्रमा सतर्क हुन भनिएको छ ।

कञ्चनपुरको शान्तिपुर बेलौरी, नवलपरासीको डण्डा, परासी बर्दघाट, चितवनको माडी, लमजुङको बेसीसहर क्षेत्रमा भारी वर्षा भएकाले सतर्क रहन एसएमएस पठाई स्थानीयवासीलाई सुरक्षित रहन भनिएको छ ।आजको गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७ असार २७ गते शनिवार
प्रतिक्रिया दिनुहोस