प्रिमियर लिगः आर्सनलले लिभरपुललाई हरायो

१ साउन , काठमाडौं – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले लिभरपुललाई हराएको छ । nघरेलु मैदानमा आर्सनलले यस सिजनको च्याम्पियन लिभरपुललाई २–१ ले हराएको हो । कीर्तिमानी अंकतर्फ अघि बढेको लिभरपुलको लक्ष्यलाई आर्सनलले यस सिजन पूरा हुन दिएन ।

साडियो मानेले २०औं मिनेटमा लिभरपुललाई अग्रता दिलाएका थिए । एन्ड्रे रोबर्टसनको क्रसममा मानेले एनफिल्ड क्लबलाई अघि बढाएका थिए । तर पहिलो हाफमै दुई गोल गर्दै आर्सनलले खेलमा फर्किएको थियो ।

लिभरपुलको कमजोरीको फाईदा उठाउँदै आर्सनल खेलमा फर्किएको हो । लिभरपुलका भर्जिल भान डीजिकको ब्याक पासमा एलेक्जेन्डर लाकाजेटले ३२औं मिनेटमा बराबरी गोल फर्काए ।

गोलकिपर एलिसनको कमजोर प्रर्दशनको फाइदा उठाउँदै निल्सनले ४४औं मिनेटमा आर्सनललाई २–१ को अग्रता दिलाए । सोही अग्रता अन्ततः निर्णायक बन्दै आर्सनलले खेल जीत्यो ।

जीतसँगै आर्सनल ५३ अंक बनाएको छ र उ नवौं स्थानमा कायम छ । हारका बाबजुद शीर्ष स्थानको लिभरपुलको ९३ अंक छ । लिभरपुलले म्यान्चेष्ट सिटीले कायम राखेको सय अंकको कीर्तिमान पूरा नहुने निश्चित भएको छ । अब लिगमा दुई खेल जीते पनि लिभरपुलको ९९ अंक मात्र हुनेछ ।

प्रकाशित मिति : २०७७ साउन १ गते बिहिवार
प्रतिक्रिया दिनुहोस