१साउन, रोल्पा । पूर्वी रोल्पाको मुख्य व्यापारिक केन्द्र रूइनिबाङ बजारमा आर्ट पसल छ, गेन्मी आर्ट । यहीँ आर्ट पसलमा हातमा कुची र रङ्गमा तल्लिन हुन्छिन् भिमराशी गुरुङ। नेकपा (माओवादी)ले सुरू गरेको दश वर्षे सशस्त्र द्वन्द्वको उदगम भूमि थबाङमा जन्मिएकी भिमराशी लामो समयदेखि हस्तकला व्यवसायमा निर्भर छिन् । महिलाहरू प्राय कमै मात्रामा हस्तकला व्यवसायमा रहन्छन् त्यसै मध्येको एक उदाहरण हुन् उनी । उनी यहीँ आर्टमा विभिन्न कला उतार्छिन् अचेल ।
थबाङमा जन्मिएर दुख कष्ट झेल्दै स्नातक तहसम्मको अध्ययन पुरा गरेकी उनी अहिले चित्र र पेन्टिङमा भविष्य कोर्दै छिन् । शिक्षा विषयमा स्नातक गरेकी उनलाई शिक्षक बन्ने खासै जाँगर चलेन । केही वर्ष शिक्षण गरेर अनुभव लिइसकेकी उनलाई शिक्षक जागिर प्रति भन्दा पनि केही व्यवसाय गर्नुपर्दछ भन्ने लाग्यो र आर्ट सिक्न शुरु गरिन् । आर्ट सम्बन्धी सम्पूर्ण कामहरू आफ्नो भिनाजुबाट सिकेको उनी बताउँछिन् । ‘सदरमुकाम लिवाङमा रहेको भिनाजुको पसलमा बेलाबेला जाँदा मलाई यो सीप प्रति चासो जाग्यो र भिनाजुले सहजै रूपमा यो काम मलाई सिकाउनुभयो’, भिमराशीले भनिन् । भिनाजु (गञ्जबहादुर पुन) लाई गुरुको रूपमा सम्मान गर्छिन् उनी ।
सशस्त्र द्वन्द्वको उद्गम भूमि रोल्पाका कतिपय महिलाहरू शान्ती प्रक्रियापछि घरको चुलोचौको छाडेर आफै केही गर्न सकिन्छ भन्ने सोच र अठोट लिएर कर्म गर्न थालेका छन् । कतिपय महिलाहरूले सिलाईकटाई, व्यावसायिक कृषि कर्म, घरेलु उद्योग सञ्चालन गर्नमा समेत अग्रसर देखिन्छन् । चित्र र पेन्टिङ व्यवसायमा लागेकी तिनै मध्येकी भिमराशी पनि एक हुन् ।
आफूलाई यो सीप सिक्नुपर्छ भन्ने इच्छाशक्ति भएको कारण आफूले तिन महिना भित्रै सीप सिकिसकेको उनले बताइन् । सीप भनेको सिकेर सम्भव हुने चिज भएकाले कुनै पनि सीप असम्भव नहुने उनी बताउँछिन् । ‘धेरैले केटा मान्छेहरूले गर्ने काम केटीमान्छेले पनि गर्न सकिदो रहेछ भन्नुहुन्छ’ उनले भनिन् ‘सीप भनेको सिकेर सम्भव हुने चिज हो, असम्भव भन्ने केही पनि हुँदैन् ।’
‘जुनसुकै काम सजिलो त कहाँ हुन्छ र यसमा पनि मेहेनत त धेरै गर्नु नै पर्दछ’, उनले भनिन् ‘कहिलेकाँही फिल्डमै गएर आर्ट गर्नुपर्यो भने चाहिँ गा¥हो हुन्छ, अप्ठ्यारा ठाउँहरूमा चढेर लेख्नुपर्छ ।’
सीप सिक्न चाहने इच्छा राख्नेहरूलाई आफूले सीप सिकाउने समेत गरेको उनी बताउँछिन् । सडक नपुगेको बेला थबाङ विकट मानिन्थ्यो । उनको ठुलो परिवार भएकाले धेरै चुनौतीहरूको सामना गर्नुपर्ने अवस्था थियो ।
सात दिदिबहीनी र १ दाई गरी ८ भाइबहिना हुन् । परिवारमा सबैले शिक्षा प्राप्त गर्नु अत्यन्तै चुनौतीको विषय नै थियो । चार दिदीले विद्यालय नै टेक्न पाएनन् । आफुसहित दाई र अन्य २ बहिनीले मात्र विद्यालय शिक्षा ग्रहण गर्न पाएको उनी बताउँछिन् । अभाव र चुनौतीहरूको सामना गर्दै आफूले स्नातक सम्मको अध्ययन पुरा गरेको उनी सुनाउँछिन् । प्लसटु सम्मको शिक्षाको लागि गाउँमै विद्यालय थियो । प्लसटु पास गरेपछि रूकुमको सिस्ने क्याम्पसबाट स्नातक तहसम्मको अध्ययन पुरा गरेको उनले सुनाइन् ।
विभिन्न भवन तथा कार्यालयका भित्ताहरूमा उनले चित्र उतारेकी छिन् । ‘विद्यालयहरूमा आफ्नै हाटले कोरेका चित्रहरू देख्न पाउँदा मनमा खुशी लाग्छ’ उनले भनिन् । उनले पेन्टिङ, छपाई, जर्सी प्रिन्ट, विभिन्न आकृतीका चित्रहरू बनाउने गर्छिन् । ‘मसँग पढेका प्राय साथीहरू सरकारी जागिरमा लाग्नुभएको छ । म व्यवसाय गरेर बसेँ’ उनले भन्छिन् ‘पढेर जागिरै खानुपर्छ भन्ने छैन्, मान्छेलाई चाहिएको पैसा नै हो । अहिलेको जमानामा केहिनकेहि स्वतन्त्र पेशा गर्दा राम्रै होला भनेर मैले यो पेशा रोजेकी हुँ ।’
सीप सिकेपछि आफ्नै व्यवसाय गर्नुपर्दछ भन्ने सोच आएपछि आफैले व्यवसाय सञ्चालन गरेको उनको कथन छ । जुनसुकै काम पनि सजिलो भने नहुँने उनको अनुभव छ । ‘गरेपछि जेपनि सम्भव हुन्छ असम्भव भन्ने केही हुँदैन मजस्तै महिलाहरूलाई पनि केही उद्यमी गरे हुन्थ्यो भन्ने लाग्छ । त्यसप्रति त्यति धेरै चासो नदिएजस्तो लाग्छ’, उनले भनिन् ‘व्यावसायमा आम्दानी त ठ्याक्कै भन्न सकिदैन्, कहिले बढी हुन्छ कहिले कम हुन्छ ।’
‘देशमा रोजगारी छैन भन्दै दिनप्रतिदिन युवाहरू विदेशिने क्रम बढ्दो छ । आत्मनिर्भर बन्नको लागि केहीनकेही सीप सिक्ने हो भने यही गुजरा चलाउन सकिन्छ’, उनले भनिन् ‘पैसा त होला नहोला तर आफ्नो आवश्यकता चाहिँ पुरा गर्न सकिन्छ ।’
प्राय घरको चुलोचौकोमा सिमित रहने महिलाहरू पछिल्लो समय उद्यमी बन्न थालेका छन् । महिलाहरू विभिन्न आयआर्जनका सीपहरू सिक्दै उद्यमी बन्ने क्रममा देखिन्छन् ।
सशस्त्र द्वन्द्वको उद्गम भूमि रोल्पाका कतिपय महिलाहरू शान्ती प्रक्रियापछि घरको चुलोचौको छाडेर आफै केही गर्न सकिन्छ भन्ने सोच र अठोट लिएर कर्म गर्न थालेका छन् । कतिपय महिलाहरूले सिलाईकटाई, व्यावसायिक कृषि कर्म, घरेलु उद्योग सञ्चालन गर्नमा समेत अग्रसर देखिन्छन् । चित्र र पेन्टिङ व्यवसायमा लागेकी तिनै मध्येकी भिमराशी पनि एक हुन् ।


