२साउन, दाङ। नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनी प्रदेशले इन्जिनियर दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रमहरू आयोजना गर्ने भएको छ। सामाजिक उत्तरदायित्व, खेलकुद र पेशागत संवादलाई जोड दिँदै साउन १ देखि ९ गतेसम्म विभिन्न स्थानमा कार्यक्रम सञ्चालन गरिने एशोसिएसनका अध्यक्ष महेश्वर लम्सालले बताए।
कार्यक्रमको प्रारम्भ साउन १ गते नेपालगञ्जस्थित भेरी अस्पतालमा रक्तदान कार्यक्रमबाट हुनेछ। त्यसपछिको दिन साउन २ गते दाङको घोराहीमा राप्ती इन्जिनियरिङ कलेजका विद्यार्थीहरूसँग अन्तरक्रिया र व्याडमिन्टन प्रतियोगिता आयोजना गरिनेछ। यस्तै, साउन ३ गते बुटवलमा फुटसल प्रतियोगिता, साउन ६ गते श्रमिक सम्मान कार्यक्रम, र अन्तिम दिन साउन ९ गते वार्षिक साधारण सभा तथा विशेष समारोह बुटवलमै आयोजना गरिनेछ।
कार्यक्रमबारे जानकारी दिन घोराहीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, नेपाल इन्जिनियर्स एशोसिएसनका पूर्व केन्द्रीय सदस्य पारस खड्का, निवर्तमान अध्यक्ष सैलेन्द्र कुमार श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
साधारण सभा तथा विशेष समारोहमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा विभागीय मन्त्रीहरुको विशेष उपस्थिति रहने एशोसिएसन लुम्बिनी प्रदेशका सहसचिव संकल्प बुढाथोकीले जानकारी दिए।
प्रदेश अध्यक्ष लम्सालका अनुसार इन्जिनियर र समाजबीचको सम्बन्ध बलियो बनाउन सामाजिक कार्यमार्फत सहभागिता बढाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिएको हो। “देश निर्माणमा इन्जिनियरहरूको भूमिका महत्वपूर्ण भए पनि समुदायमा यसको प्रभाव पर्याप्तरूपमा बुझिएको छैन,” उनले, “त्यसैले यस्ता कार्यक्रमले समाजमा इन्जिनियरप्रतिको बुझाइ बढाउने विश्वास लिएका छौं।”


