भोलिदेखि सार्वजनिक यातायात चल्ने

७साउन,काठमाडौँ । सबै सार्वजनिक यातायात सञ्चालन हुने भएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घ र ३ वटा ट्रेड युनियन नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, नेपाल यातायात मजदुर सङ्घ र अखिल नेपाल यातायात मजदुर सङ्घले मङ्गलबार संयुक्त पत्रकार सम्मेलन गरी आफ्ना मातहतका व्यवसायीले सेवा सञ्चालन गर्ने घोषणा गरेका छन् ।

सरकारले असार २६ गतेदेखि छोटो दूरीका सार्वजनिक यातायात सञ्चालन खुला गरे पनि ठूला व्यवसायी सङ्गठनले भने विभिन्न माग राखी सेवा सञ्चालन गरेका थिएनन् । तर, मौद्रिक नीतिले माग सम्बोधन गरेपछि र सोमबार यातायात व्यवस्था विभागसँग वार्ता गरी थप सहमति भएपछि ८ गतेदेखि सेवा सञ्चालन गर्ने भएका हुन् ।

मौद्रिक नीतिले यातायात व्यवसायीले उठाउँदै आएका मागमध्ये बैङ्क किस्ताको पुनर्तालिका र पुनर्कर्जा सम्बोधन गरेको महासङ्घका अध्यक्ष योगेन्द्रनाथ कर्मचार्याले पत्रकार सम्मेलनमा बताए ।

उनले भने, ‘अब मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनका लागि व्यवसायी र स्वरोजगार श्रमिक मैत्री कार्यविधि आउने छ भन्ने आशा गर्दछौँ ।’

व्यवसायीले कोरोनालाई ध्यानमा राखी सरकारले तोकेको भाडा दरमा साना, मझौला, ठूला सबै प्रकारका सार्वजनिक सवारी साधन जोर(बिजोर प्रणाली अनुसार सञ्चालन गर्ने भएका छन् । कोरोना बीमाका लागि श्रमिकको विवरण सम्बन्धित कम्पनीले एक हप्ताभित्र महासङ्घको कार्यालयमा पठाउन महासङ्घले सूचना गरेको छ ।

असार २६ गते सरकारले अकस्मात् छोटा दूरीका सार्वजनिक यातायात खुला गर्दा आफूहरू अन्योलमा परेको व्यवसायीको गुनासो छ । सार्वजनिक यातायात सञ्चालन विधि, श्रमिक तथा यात्रुको स्वास्थ्य सुरक्षाबारे छलफल नै नगरी सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णयले आफूहरूलाई अन्योल बनाएको नेपाल यातायात मजदुर सङ्घका अध्यक्ष धर्मराज भण्डारीले बताए ।

छोटो दूरी मात्र नभई मध्यम र लामो दूरीमा सार्वजनिक यातायात सञ्चालनका लागि यातायात व्यवस्था विभागले पहल गर्ने सहमति भएपछि व्यवसायी सेवा सुचारु गर्न तयार भएका हुन् ।

त्यस्तै सोमबार विभागसँग भएको छलफलमा यातायात मजदुरहरूको एक लाखको कोरोना बीमामा सरकारले ५० प्रतिशत र यातायात व्यवसायीले ५० प्रतिशत अनुदान गर्ने सहमति भएको थियो ।

कोरोनाका कारण यातायात श्रमिकको मृत्यु भएमा आश्रित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनका निम्ति सरकारको तर्फबाट कोष स्थापनाका लागि विभागले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पठाउने सहमति भएको थियो ।

यातायात मजदुरलाई स्वास्थ्य उपकरणको व्यवस्था व्यवसायीले नै गर्ने तर यात्रुको व्यवस्था स्वयम्ले गर्नुपर्ने छ ।

स्वास्थ्य सुरक्षाका आवश्यक मापदण्ड पूरा गरी यातायात सञ्चालन गरिने महासंघले जनाएको छ । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात पनि छिट्टै खुला गर्नुपर्ने व्यवसायी सङ्गठनको माग छ ।

असार २६ गतेदेखि छोटो दूरीका सार्वजनिक यातायात खुला गरेपछि काठमाडौं उपत्यकामा सुन्दर यातायातका विद्युतीय बस, मयूर यातायात, महानगर, मेट्रो, साझा लगायतका यातायात सञ्चालनमा छन् । आजको गोरखापत्र दैनिकबाट

प्रकाशित मिति : २०७७ साउन ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस