७साउन, रोल्पा। बहुदलीय व्यवस्था पुनर्स्थापनापछि २०४८ प्रतिनिधिसभा भवन छिर्ने हुलमा कछाड लगाएका एक सांसदले सबैको ध्यान खिँचे।

सर्टबाहिर अस्कोट, अनि तल कछाड। कछाडले घुँडामाथिको भागमात्रै छोप्थ्यो। जाडो होस् या गर्मी, सदाबहार पोशाक थियो उनको। धेरैले उनलाई ‘कछाड बुढा’ भन्थे। जीवनको अन्तिम कालसम्म पनि उनले कछाड छाडेनन्।

संघर्ष र विद्रोहका पर्याय उनै ‘कछाड बुढा’ अर्थात् बर्मन बुढा अब सम्झनामा मात्र छन्। क्यान्सरको उपचार गराइरहेका उनको ९० वर्षको उमेरमा बुधबार बिहान ४ः३० बजे निधन भयो।
०००

बहुदलीय प्रजातन्त्र पुनर्स्थापनापछि २०४८ सालमा भएको निर्वाचनमा क्षेत्र नम्बर १ बाट उम्मेदवार भइदिन उनलाई संयुक्त जनमोर्चाले प्रस्ताव गरेको थियो। उनलाई निर्वाचनमा उठाउन बाबुराम भट्टराई दाङ पुगेर आग्रह गरेका थिए। सुरुमा उनले उमेरले ६० पुगेकाले चुनाव नलड्ने बताए। तर पार्टीको दबाबपछि उनी निर्वाचनमा खडा भए।

क्षेत्र नम्बर २ बाट कृष्णबहादुर महरा उठेका थिए। उनले २ हजार मतले बालाराम घर्तीमगरलाई हराए। महरा संसदमा दौरा सुरुवालमै प्रवेश गरे। बर्मन बुढा भने छातीमा दुवैतर्फ छड्के पारेर लगाउने खाडीको कपडाको भाङ्ग्रो र कछाड बाँधेर सिंहदरबार छिरे। अरू सांसद दौरा, सुरुवाल, कोट, पाइन्टमा ठाँटिएर जाँदा उनी भने सधैँ आफ्नै मौलिक पोसाकमा संसद भवन पुग्थे । उनलाई धेरैले अनौठो मानेर हेर्थे।

संसदमा तत्कालीन राजा वीरेन्द्रले सम्बोधन गर्ने कार्यक्रम थियो। उनले सधैँ कछाड लगाएर आउने भएकाले संसदका महासचिवले राजा आउने एक दिन भए पनि दौरा–सुरुवाल लगाएर आउन आग्रह गरे। तर उनले उल्टै प्रश्न गरे, ‘मैले विदेशी लुगा लगाएको हो र ?
वीरेन्द्रले सम्बोधन गर्ने दिन पनि उनी कछाड बाँधेरै गए।

संसदमा सबैको नजर उनीमाथि थियो ।

त्यस दिन सांसदमात्र नभई राजाको भाषण सुन्न विभिन्न क्षेत्रका अरू मान्छे पनि आएका थिए। उनले राजा आउने भन्दैमा आफ्नो पुर्खादेखि लगाउँदै आएको पोसाक छाड्न नसक्ने बताए र कछाड लगाएरै संसद भवन गए।

२०५१ सालमा संसद भंग नहुञ्जेलसम्म उनले कछाड लगाए।

पछि पनि उनी भन्ने गर्थे, ‘घरबुना खाडीको भाङ्ग्रो जिउमा छड्के पारेर लगाउने, खाडीका पटुका र कछाड बाँध्ने पहिलादेखिको नै हाम्रो चलन हो । पाइन्ट कोट लगाउने चलन पछि आएको हो।’

०००

विद्रोही गाउँको रूपमा परिचय बनाएको थवाङमा २०३८ सालमा भएको राष्ट्रिय पञ्चायतको शून्य मतदान अभियानका उनी अगुवा नेतासमेत थिए। त्यो बेला प्रधानपञ्चसमेत रहेका उनलाई शून्य मत खसेपछि राजकाज मुद्दामा पक्राउ गरी जेल चलान गरिएको थियो।

रोल्पाकै पहिलो कम्युनिस्ट पार्टी सदस्य उनी २०४८ सालमा जिल्ला सचिव थिए। २०४८ सालको निर्वाचनमा रोल्पाबाटै निर्वाचित भएका थिए कृष्णबहादुर महरा। केही समयअघि उनी तिनै पुराना समकक्षी कृष्णबहादुर महरालाई भेट्न सिंहदरबार पुगेका थिए। तर समय नमिलेपछि उनी फर्किएका थिए।

काग्रेस नेतालाई कुटेपछि कम्युनिष्ट भए

२००७ पछिको समय। थबाङमा तत्कालीन मुखिया कृष्ण झाँक्री हर्ताकर्ता थिए। उनी कांग्रेसका नेता पनि थिए। सानैदेखि विद्रोही स्वाभावका उनी झाँक्रीको रवाफ देखेर वाक्क भएका थिए। २०१२ सालतिर उनीलगायतका युवाहरुले भेँडी गोठमा बसेर झाँक्रीसहितका नेताहरुलाई तह लगाउने सल्लाह गरे। सोही सल्लाहबमोजिम उनीहरुले झाँक्रीलाई कुटे। त्यसपछि उनीसहितको समूह प्रशासनको तारो भयो। उनीहरुलाई कम्युनिष्ट भनेर एक महिना जेल हालियो ।

गाउँमा विद्रोह गरेका बुढालाई जेल ले नै परिपक्व कम्युनिष्ट बनायो। जेलमै उनको भेट कम्युनिष्ट नेताहरु मोहनबिक्रम सिंह र खगुलाल गुरुङसँग भयो।

यहीँबाट बर्मन बुढाको जीवनमा नयाँ मोड आयो। उनी साँच्चै कम्युनिस्ट भए। उनले कुटेका झाँक्री पनि झगडिया भएका कारण जेलमै थिए । बुढाले आफूले कुटेका झाँक्रीलाई पनि कम्युनिस्ट बनाए। जेलबाट छुटेपछि २०१३ सालमा मोहनविक्रम सिंह र खगुलाल गुरुङले बुढा र झाँक्री पक्षका तीनरतीन जना प्रतिनिधि राखेर थबाङमा कम्युनिष्ट संगठन बनाए। त्यसपछि यो संगठनमा बुढा नेतृत्वमा रहे, झाँक्री ओझेल पर्दै गए। कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाइएको तत्कालीन अवस्थामा किसान संगठनको नामबाट उनीहरु कम्युनिष्ट पार्टीमा संगठित भएका थिए, जसको अगुवाइ बर्मन बुढाले गरेको थवाङका पुराना कम्युनिष्ट नेता पूर्णबहादुर रोकाले ‘ऐतिहासिक थबाङ’ नामक पुस्तकमा उल्लेख गरेका छन् ।

२०१५ सालमा गाउँलेले बुढालाई मुखिया चुने। २०१५ सालको चुनावमा थबाङको सबै भोट कम्युनिष्टलाई गयो। यसको अगुवाइ पनि उनले नै गरे।

पञ्चायतकालमा उनी थबाङका प्रधानपञ्च भए । २०३७ सालमा जनमत संग्रह हुने बेला सरकारले जिल्लाका सबै प्रधानपञ्चलाई लिबाङ बोलायो। सबैलाई निर्दलमा भोट हाल्न भनियो। बुढा यसमा एक्लै भए। उनले हक्की स्वभावमा जनताको ठेक्का नलिने घोषणा गरिदिए ।

चुनावमा थबाङको सबै भोट बहुदललाई गयो। पञ्चायतले उनलाई निशाना बनायो। उनीमाथि २०३७ सालमा शान्ति सुरक्षा मुद्धा लगाइयो। उनी फेरि दोस्रो पटक जेल परे। २७ महिना जेल बसे । उनको प्रधानपञ्चको अवधि नै जेलमा बित्यो । २०३८ सालमा पञ्चायतले गराएको चुनावलाई थबाङले पूर्ण बहिस्कार गर्‍यो, शून्य मतदान भयो।

२०४८ मा सांसद भएपछि उनी काठमाडौं आए। ‘मासिक ४ हजार तलब थियो। २ हजार पार्टीले लगिहाल्थ्यो, बाँकी २ हजार गाउँका मानिसहरुलाई काठमाडौ आउँदाजाँदा खाने खर्च, भाडा दिँदैमा सकिन्थ्यो,’ उनले सांसद हुँदाको दुःख सुनाएका थिए, ‘तलबले मुस्किलले खान पुग्थ्यो। कमाउने कुरा त कहिलै सोचिएन ।’

सांसद् अवधि सकिएपछि उनी सिधै थबाङ फर्किए। गाउँमै राजनीति गर्न थाले। २०५१ सालको मध्यावधि निर्वाचन नेकपा माओवादीले बहिस्कार गर्ने नीति लिएका कारण सिंगो थबाङले बहिस्कार गरिदियो। त्यतिबेला चार मतमात्र खस्यो। २०५२ सालमा माओवादीले युद्ध थालेपछि थबाङ युद्धमै होमियो। २०५४ को स्थानीय निर्वाचनमा पनि शून्य मतदान भयो। २०५६ को आम निर्वाचनमा सरकारले सदरमुकाम लिवाङबाट दुई जनालाई हेलिकोप्टरमा लगेर मतदान गरायो। अरु भोट खसेन।

युद्धकालमा दुःखपीडा भोग्दा थबाङ गाउँले एकमुष्ट नै भोग्यो। २०५८ चैत १५ गते नेपाली सेना थबाङमा पसेपछि अशक्त, वृद्धवृद्धाबाहेक ४ सय २२ जना गाउँलेहरु जंगलतिर भागे। गाउँ खाली भयो। भोलिपल्ट सेनाले माओवादी पार्टी कार्यालयसहित १३ घरमा आगो लगाइदियो। त्यतिबेला सेना ४६ दिनसम्म थबाङमै बस्यो। यसक्रममा ३७ घर जलाइए । थबाङबासीहरु सेना फर्केपछि, ४८ दिनपछि घरमा आए।

२०६४ को पहिलो संविधानसभामा माओवादी अध्यक्ष प्रचण्डलाई भोट हालेर थबाङले जितायो। पछि प्रचण्डले आफूले जितेका दुई स्थानमध्ये रोल्पा छाडेपछि माओवादीकै सन्तोष बुढाले जिते । २०७० को दोस्रो संविधानसभामा भने थबाङले एक भोट पनि नखसालेर पुनः विद्रोह गर्‍यो। यी सबैमा बुढाको भूमिका महत्वपूर्ण थियो।
नेपालका धेरै ठूला कम्युनिस्ट नेताहरुले थबाङमा काम गरे। विभिन्न समयमा मोहनविक्रम सिंह, प्रचण्ड, मोहन वैद्य, कृष्णसेन इच्छुक र रामबहादुर थापा बादलले थबाङलाई आधार बनाएर काम गरेका थिए।

राजासँग वार्ता गराउन खोज्दा ज्वाइँ गुमाए

युद्धकालमा बुढा लामो समय ललितपुरस्थित छोरी ज्वाइँको घरमा बसे । कछाड लगाउँदा सबैले चिन्ने भएकाले उनी मधेशीजस्तो देखिन लुंगी लगाएर लुके। युद्धकालमा माओवादीले सिधै राजा ज्ञानेन्द्रसँग वार्ता गर्ने भनेपछि त्यसको चाँजोपाँजो पनि बुढाकै पहलमा मिलाइएको थियो। उनकै छोरी ज्वाइँ खड्कबहादुर घर्तीको कुसुन्तीस्थित घरमा माओवादी नेताहरु रामबहादुर थापा र कृष्णबहादुर महरा आए। राजाले पनि ज्वाइँ राजबहादुर सिंह र सैनिक सचिव विवेककुमार शाहलाई पठाए। दुई दिन त्यहाँ वार्ता भयो तर कुरो मिलेन।

राजाका प्रतिनिधिले फेरि पनि माओवादीसँग भेट गराइदिन बुढालाई अनुरोध गरे। तर उनले नसक्ने भन्दै फर्काइदिए। उनी सेनाको निसानामा परे। त्यसपछि सेनाले बुढाका ज्वाइँलाई पक्राउ गरेर लग्यो अनि, मारिदियो । राजासँग वार्ता गराउन खोज्दा उनले ज्वाइँ गुमाए।

फर्के रोल्पा

युद्धपछि बुढा थबाङ फर्के र पुरानै दिनचर्यामा लागे। गाउँ समाजको अगुवाइका काममा सघाउन थाले। पार्टी फुटेपछि दुवै माओवादीले उनलाई तानातान गरे । तर उनी कतै लागेनन् । मोहन बैद्य पक्षले उनलाई केन्द्रीय सल्लाहकार राखेको थियो भने रामबहादुर थापा ‘बादल’ उनलाई भेट्न घरमै पुगेका थिए। उनले दुवै पक्षलाई कतै नलाग्ने भन्दै फर्काए।

क्यान्सर भएपछि गत वर्षदेखि उनी उपचारका लागि कुसुन्तिस्थित छोरीको घरमा थिए। नेपाल लाइभबाट साभार